अमेरिकालाई खतरनाक परिणाम भोग्नुपर्ने जोर्डनको चेतावनी

अमेरिकालाई खतरनाक परिणाम भोग्नुपर्ने जोर्डनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार

अमेरिकाले जेरुसलेमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिए त्यसको खतरनाक परिणाम भोग्नुपर्ने चेतावनी जोर्डनी विदेशमन्त्रीले दिएका छन् ।

विदेशमन्त्री अयमान सफादीले आफ्ना अमेरिकी समकक्षी रेक्स टिलर्सनलाई त्यस्तो घोषणाले अरब र मुस्लिम जगतमा ठूलो आक्रोश निम्त्याउने चेतावनी दिएका हुन् ।

चुनावी अभियानमा गरेको बाचा पूरा गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो घोषणा गर्न सक्ने अनुमान गरिएका बेला जार्डनले खबरदारी गरेको हो । ट्रम्पका ज्वाइँ जारेड कुश्नरले भने अहिलेसम्म त्यस्तो निर्णय भइनसकेको बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले भने कुनै प्रतिक्रिया दिएको छैन ।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले त फ्रान्सका राष्ट्रपति एमानुएल माक्रों र टर्कीका राष्ट्रपति रेजेप तायैप एर्दोआनसहितका विश्व नेतालाई टेलिफोन गरी त्यस्तो घोषणा नगर्न ट्रम्पलाई फकाउन आग्रह गरेका छन् ।

प्यालेस्टिनी नेताहरुले त त्यस्तो कदमले दुई राज्यसम्बन्धि समाधानमा खतरा निम्त्याउने प्रष्ट गरिसकेका छन् ।

Post Comment