रोकिएन अमेरिका विरोधी प्रदर्शन

रोकिएन अमेरिका विरोधी प्रदर्शन
अन्तर्राष्ट्रिय समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानी मान्यता दिने घोषणाविरुद्ध इन्डोनेसियाको राजधानी जकार्तामा बृहत् प्रदर्शन भएको छ । ट्रम्पको घोषणाविरुद्ध विभिन्न देशमा अमेरिकाविरोधी गतिविधि बढिरहेका वेला आइतबार जकार्तामा प्रदर्शन भएको हो । अमेरिकाविरोधी सो प्रदर्शनमा हजारौँ इन्डोनेसियाली नागरिक सहभागी थिए ।

ट्रम्पले दुई साताअघि जेरुसेलमलाई इजरायलको राजधानी मान्यता दिने घोषणा गरेका थिए । सोही विषयलाई लिएर मुस्लिम राष्ट्रहरूले अमेरिकाको विरोध गरेका छन् । राजधानी जकार्तामा रहेको अमेरिकी दूतावासतर्फ अघि बढिरहेका प्रदर्शनकारीलाई प्रहरीले रोेक्ने प्रयास गर्दा प्रदर्शनकारीसँग झडप भएको थियो । प्रदर्शनमा कम्तीमा ८० हजारको सहभागिता थियो । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको थियो । प्रदर्शनमा सरकारी मुस्लिम संगठनहरूको समर्थन र सहभागिता थियो ।

ट्रम्पविरोधी प्रदर्शन विश्वका विभिन्न मुलुकमा भएका छन् । प्यालेस्टिनीहरूले स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि संघर्षरत इस्लामिक हमास समूहले एक साताअघि ट्रम्पको निर्णयविरुद्ध आन्दोलन घोषणा गरेको थियो । ट्रम्पको निर्णयविरुद्ध चौतर्फी विरोध चर्कंदै जाँदा लेबनानको राजधानी बेरुतस्थित अमेरिकी राजदूतावासअगाडि विरोध जुलुस निकालिएको थियो ।

अमेरिकासँग राम्रो सम्बन्ध भएका संयुक्त अरब इमिरेट्स र साउदी अरेबियालगायतले ट्रम्पको निर्णयको आलोचना गरेका छन् । टर्कीका राष्ट्र«पति तैयब रेसेप एर्डोगानले जेरुसेलम इजरायललाई सुम्पिने पक्षमा आफू नभएको प्रतिक्रिया दिएका छन् । अमेरिकाले सो निर्णय तत्काल फिर्ता लिँदा राम्रो हुने उनले बताएका छन् । ट्रम्पको निर्णयको विरोध गर्दै मुस्लिम राष्ट्र«हरूले जेरुसेलमको स्वतन्त्रता जोगाउन आह्वान गरेका छन् ।

Post Comment