लेस्टिनी राष्ट्रपति महमुद अब्वासले प्यालेस्टिनी जनता अमेरिकाद्वारा प्रस्ताव हुने कुनैपनि शान्ति योजनालाई आगामी दिनमा स्वीकार गर्न नसक्ने बताएका छन् ।
ट्रम्प प्रशासनले सन् २०१८ मा दुबै पक्षलाई मान्य हुने गरी योजना बनाइरहेको भन्ने भनाइहरू बाहिर आइरहेका समय प्यालेस्टिनी नेता अब्वासको उक्त अभिव्यक्ति आएको हो ।
पेरिसमा फ्रान्सेली राष्ट्रपति इम्मानुयल म्याक्रोनसँगको भेटपछि अब्वासले भने, ‘संयुक्त राज्य अमेरिका इजरायल–प्यालेस्टाइन शान्ति प्रक्रियामा एक ‘बेइमान मध्यस्थ’ देखिएको र अमेरिकाद्वारा ल्याइने कुनै योजना हामीहरुलाई स्वीकार हुनेछैन ।’
अब्वासले राष्ट्रसंघको बिहीबार भएको महासभामा जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने अमेरिकी निर्णयविरुद्ध १२८ मुलुकले आलोचना गरेको भन्दै अमेरिकी पक्षमा मतदान गर्ने मुलुकको पनि आलोचना गरे ।
राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरू विरुद्ध आर्थिक सहायता रोक्का गर्ने चेतावनीकाबीच राष्ट्रसंघको महसभाका सदस्यहरूले बिहीबार जेरुसलेमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने ट्रम्पको निर्णयको विपक्षमा मतदान गरेका थिए ।
अरब र मुस्लिम देशहरूको माग बमोजिम १९३ सदस्यीय महासभाको आपतकालिन सत्र बोलाइएकोे थियो ।
यसअघि राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले मस्यौदा प्रस्तावलाई समर्थन गरी मतदान गर्ने मुलुकको नाम जम्मा गरी राष्ट्रपति ट्रम्पलाई उपलब्ध गराउने चेतावनी र्दिकी छन् । त्यसपछि राष्ट्रपति ट्रम्पले यदि संयुक्त राज्य अमेरिकाको विपक्षमा विभिन्न देशहरूले मतदान गरे भने त्यसलाई अमेरिकाले बेवास्ता गर्ने सन्चारकर्मीहरूलाई बताएका थिए ।
आफ्नो प्रशासनको विपक्षमा उभिने देशहरूलाई सहायता रोक्ने खुल्ला चेतावनी दिने क्रममा उनले वाशिङटनको ठूलो परिमाणको रकम जोगिने उल्लेख गरेका थिए ।