सिरियामा मानवीय सहायता पुर्याउनका लागि युद्धविराम गराउने संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा प्रस्तुत प्रस्तावमा सहमति नभएको रूसले बताएको छ।
संयुक्त राष्ट्रसंघका लागि रूसी राजदूत भसिली नबेन्जियाले न्यूयोर्कस्थित परिषद्मा आफ्नो देशले उक्त प्रस्तावमा संशोधन प्रस्तुत गरेको बताएका हुन्।
सिरियाको पूर्वी गुटास्थित विद्रोहीको घेराबन्दीमा रहेको क्षेत्रमा बमबारीका घटना चर्किँदा त्यहाँ युद्धविराम गर्नुपर्ने आवाजहरू बढिरहेका छन्।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा बोल्दै संयुक्त राष्ट्रसंघका लागि रूसी राजदूत भसिली नबेन्जियाले लोकप्रिय भन्दा पनि सम्भव हुने कदम चाल्न आह्वान गरे।
तर पश्चिमा कुटनीतिज्ञहरूले भने सिरियाली सरकारलाई पूर्वी गुटामा कारवाही चलाइरहन सहयोग गरिरहेको रूसको युद्धविरामलाई पर धकेल्ने चतुर्याईँ भएको बताएका छन्।
यसअघि सिरियाका लागि संयुक्त राष्ट्रसंघका क्षेत्रीय मानवीय संयोजक पानोस मुम्ट्सिसले घेराबन्दीमा रहेको क्षेत्रको अवस्था निकै दयनीय रहेको र त्यहाँ खाद्यान्न, पानी विजुलीको चरम अभाव रहेको बताएका थिए।
कुवेत र स्वीडेनले देशव्यापी रूपमा सिरियामा एक महिनाका लागि युद्धविराम गर्ने गरी तयार गरेको मस्यौदा प्रस्ताव अघि सारेका हुन्।
उनीहरूले उक्त प्रस्ताव पारित भएको ७२ घण्टाबाट युद्धविराम लागू हुने गरी मस्यौदा तयार पारेका छन्।
र, त्यसको अर्को ७२ घण्टापछि घेराबन्दीमा रहेका क्षेत्रमा औषधि उपचार र सहायता सामाग्रीहरू पुर्याउन थालिन्छ।
उक्त प्रस्ताव अनुसार देशभरका १२ सय ४४ समुदायका ५६ लाख मानिसहरू चरम अभावमा रहेका छन्।
युद्ध विरामको प्रस्तावलाई ढिला नगरी तत्काल पारित गर्न अमेरिका, ब्रिटेन र फ्रान्सले आह्वान गरेका छन्।