भारतको केरला मलप्पुरमा एक बाबुले विवाहको अघिल्लो दिन आफ्नी छोरीलाई छुरा प्रहार गरि हत्या गरेका छन्। दलित युवासँग प्रेम अनि विवाह गर्न लागेको भन्दै बाबुले छोरीको हत्या गरेको बताइएको छ।
प्रेमीसँग छोरीको विवाह गराउन यसअघि ४२ वर्षीय बाबु राजन सहमत भएका थिए। तर उक्त सहमतीलाई विवाहको अघिल्लो रात तोड्दै आफ्नै छोरीको हत्या गरेका हुन्।
२२ वर्षिया अथिराले जात नमिल्ने भारतीय सेनामा कार्यरत रहेका केटासँग विवाह गर्ने कार्यक्रम यसअघि परिवारको सहमती मै शुक्रबारका लागि तय भएको थियो।
केटीका बाबु राजनले विवाहका लागि सहमती दिए पनि उनले मनदेखि नै उक्त विवाद स्वीकार गरेका थिएनन्। उनी लामो समयदेखि उक्त प्रेमको विपक्षमा उभिएका थिए। छोरीलाई उक्त केटासँग विवाह हुननसक्ने बताउँदै आएपनि उनले अन्त्यमा विवाह प्रस्ताव भने स्वीकार गरेका थिए। शुक्रबार अथिराको घरमा दुलही लिन आउने कार्यक्रम तय भएको थियो।
बिहीबार बेलुका सोही विवाहको विषयमा वादविवाद भएको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन्। बहसकै क्रममा बाबुले छोरीमाथि धारिलो हतियार प्रयोग गरि भुइँमा नढलेसम्म प्रहार गरेका थिए। प्रहरीले छोरीको हत्या गर्ने बाबुलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ।