भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहिबार विरोध प्रदर्शनबीच तमिलनाडु राज्यको चेन्नाई पुगे । छिमेकी कर्नाटकसँगको पानी विवाद समाधान गर्न काभेरी व्यवस्थापन बोर्ड गठन गर्न मोदी सरकार असफल भएकोमा उनको विरोध भएको हो ।
विपक्षी पार्टी तथा तमिल समूहरुका सदस्यको उपस्थिति रहेको सो ठूलो प्रदर्शनमा प्रदर्शनकारीहरुले कालो झण्डासहित ‘फर्की जाउ मोदी’ नारा लगाइएको थियो । यो नाराले हिजो सामाजिक सञ्जालमा विश्वव्यापी ट्रेण्डमा शीर्ष स्थान लिएको थियो । यस घटनाले मोदीको यो भ्रमणलाई ठूलो राजनैतिक लज्जामा परिणत गरिदिएको छ ।
पहिले मद्रास भनिने यो शहरमा मोदी डेफ–एक्सपोको उद्घाटन गर्न गएका थिए । वार्षिक रुपमा हुने यो प्रतिष्ठित सैन्य प्रदर्शनीमा लगभग ६८० भारतीय र विदेशी संस्थाहरुले भाग लिएका थिए ।
कार्यक्रममा भाषण गर्ने क्रममा मोदीले एक गलत इतिहासको पनि उल्लेख गरे । उनले कान्चीपुरमलाई ‘चोलाको भूमी’ भनेका थिए जबकी पल्लव शासनलाई त्यो उपमा दिइन्छ ।
कुनै अवान्छित क्रिया हुन नदिनको लागि १०,००० प्रहरीहरु तैनाथ गरिएको थियो । कार्यक्रम शुरु हुनुभन्दा अघि केही प्रदर्शनकारीहरु कालो कपडा लगाएर ठूला होडिङ्गबोर्डमा चढेर नारा लगाइरहेका देखिन्थे । प्रहरीले तिनलाई पछि तल झार्न निर्देशन दिएका थिए ।
ठूलो स्तरको विरोध प्रदर्शनका कारण मोदी हवाई मार्गबाट कार्यक्रमस्थलमा पुगेका थिए । स्थानीय बासिन्दाका अनुसार प्रदर्शनकारीहरुलाई कार्यक्रम स्थलमा जान रोक्नको लागि इष्ट कोस्ट मार्ग बन्द गरिएको थियो ।
अधियार क्यान्सर इन्स्टीच्युटमा चार नयाँ सेवाहरुको उद्घाटन गर्ने अलग कार्यक्रमको लागि त्यहाँ जान लागेका मोदीको हेलिकप्टर अवतरण गराउनको लागि त्यहाँको एक पर्खाल ढालिएको थियो ।
हेलिकप्टरमा सवार रहेका मोदीले देखुन् भनेर केही प्रदर्शनकारीहरुले ‘मोदी फर्की जाऊ’ नारा लेखिएको कालो ब्यालुनमा उडाएका थिए । पुलिसले केही बेलुन फुटाए पनि केही बेलुन भने उडेर गएका थिए ।
विपक्षी पार्टी ‘द्रभिड मुन्नेट्र कजगम(डीएमके)’ र केही साना समूहहरु सर्वोच्च अदालतको आदेश अनुरुप मोदीले काभेरी व्यवस्थापन बोर्ड निर्माण गर्न असफल भएको सडकमा उत्रेका हुन । डीएमकेका अध्यक्ष एम.के.स्टालीनले आफ्ना पार्टीका कार्यकर्ताहरुलाई आफ्नो घर र कार्यालयहरुमा कालो झण्डा राख्न आह्वान गरेका थिए ।
भारतको सर्वोच्च अदालतले विवादित काभेरी खोलाको पानी तमिलनाडू र कर्नाटकबीचमा बाँडफाँड गर्नको लागि एक स्वतन्त्र संस्थान निर्माण गर्नको लागि सरकारलाई निर्देशन गरेको थियो ।
तर अदालतले दिएको समयसीमा सकिएसँगै तमिलनाडू राज्यका राजनैतिक पार्टीहरुले मोदीको भाजपालाई कर्नाटकमा अर्को महिना हुन लागेको चुनाव अघि भोट जुटाउन चाल खेलेको आरोप लगाएका छन् ।
काभेरी खोलाको मुद्दाले तमिलनाडूमा केही समयदेखि निरन्तर विरोध निम्त्याएको छ । यही कारण चेन्नाईमा हुने भनिएको केही आईपीएलको खेल अर्को स्थानमा सारिएको छ ।