क्युबामा क्यास्ट्रो परिवारको लामो समयदेखिको शासन अन्त्य गराउने गरी त्यहाँको संसद्ले राष्ट्रपति राउल क्यास्ट्रोको नजिकका सहयोगी मिगेल डिआस-कनेललाई उनको उत्तराधिकारी हुने एक मात्र उम्मेदवारका रूपमा चयन गरेको छ।
राउल क्यास्ट्रोले आफ्ना बिरामी दाइ फिडेलबाट सन् २००६ मा सत्ताको जिम्मेवारी पाएका थिए।
ह्वाइट हाउसमा राष्ट्रपति डोनल्ड ट्रम्पको आगमनसँगै तत्कालीन राष्ट्रपति बराक ओबामाको कार्यकालदेखि अमेरिका-क्युबा सम्बन्धमा आउन थालेको सुधारमा अहिले आंशिक रूपमा अवरोध उत्पन्न भएको छ।
कम्युनिष्ट शासन रहेको क्युबामा सत्ताबाट बाहिरिइसकेपछि पनि वर्तमान राष्ट्रपति क्यास्ट्रो शक्तिशाली रहिरहने अपेक्षा गरिएको छ।
क्युबाको न्याशनल एसेम्बलीले डिआस-कनेलको उम्मेदवारीको पक्षमा मतदान गरे पनि स्थानीय समय अनुसार बिहीवारअघि नतिजा सार्वजनिक हुनेछैन।
बिहीवार क्यास्ट्रोले औपचारिक रूपमा डिआस-कनेललाई राष्ट्रपतिको जिम्मेवारी हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ।
यद्यपि सन् २०२१ मा पार्टीको अर्को महाधिवेशन नहुञ्जेल क्यास्ट्रोले सत्तारूढ कम्युनिष्ट पार्टीको प्रमुख पद सम्हालिरहने छन्।
बीबीसीका विल ग्राण्ट भन्छन्, क्युबाको नयाँ नेतृत्वले देशको अर्थतन्त्र निष्क्रिय रहेको र युवापुस्ता परिवर्तनको व्यग्र प्रतीक्षामा रहेको अवस्थामा पाउनेछ।
को हुन् डिआस-कनेल?
सन् २०१३ मा क्युबाको काउन्सिल अफ स्टेटको उपराष्ट्रपतिमा नियुक्त हुँदा तुलनात्मक रूपमा डिआस-कनेल खासै चर्चित व्यक्तित्व थिएनन्।
तर त्यसपछि उनी राष्ट्रपति क्यास्ट्रोका नजिकका सहयोगी भए।
विगत पाँच वर्षयता डिआस-कनेललाई भावी राष्ट्रपति पद र सत्ता सम्हाल्नका लागि तयार पारिँदै थियो।
तर उपराष्ट्रपति पदका लागि पहिलो पटक नाम चयन गरिनुअघि पनि ५७ वर्षीय डिआस-कनेलसँग लामो राजनीतिक अनुभव थियो।
फिडेल क्यास्ट्रोले पहिलो पटक प्रधानमन्त्रीका रूपम शपथ लिनु केही समयअघि सन् १९६० को एप्रिलमा डिआस-कनेल जन्मिएका हुन्।
इलेक्ट्रिकल इञ्जिनियरिङ पढेका डिआस-कनेलले २० वर्षको उमेरमा यङ कम्युनिष्ट लिगको एक सदस्यका रूपमा राजनीति शुरू गरेका हुन्।
वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले डिआस-कनेलको ‘सिद्धान्तप्रतिको निष्ठाको’ प्रशंसा गर्ने गरेका छन्।