क्यानडामा भ्यानले जोतेर १० को हत्या

क्यानडामा भ्यानले जोतेर १० को हत्या
अन्तर्राष्ट्रिय समाचार

क्यानडाको टोरन्टोका एक व्यक्तिले भाडामा लिइएको भ्यान पैदल यात्रु हिँड्ने व्यस्त मार्गमा योजनाबद्ध रूपमा गुडाएपछि कम्तीमा १० जना मारिएका छन्।

उक्त भ्यानले ठक्कर दिएका अन्य १५ जना घाइते भएका छन्।

प्रत्यक्षदर्शीले ती चालकले पैदलमार्गमा तीव्र गतिमा भ्यानलाई जोताएको र त्यसपछि कैयौं पटक सडकमा र पैदलमार्गमा ल्याउने लैजाने गरेको उल्लेख गरेका छन्।

सन्दिग्ध चालकलाई पक्राउ गरिएको छ।

दिउँसोको खाना खाने समयमा सेतो रंगको उक्त भ्यानले पैदल यात्रुले भरिएको उत्तरी टोरन्टोको बाहिरी क्षेत्रमा पैदलमार्गमा चढेर मानिसहरूलाई ठक्कर दिएको थियो।

प्रत्यक्षदर्शीहरूले उक्त भ्यान तीव्र गतिमा हुइकिँदै अघि बढेको र मानिसहरू चिच्याएको आवाज सुनिएको जनाएका छन्।

उक्त भ्यानले बारम्बार सडक र पैदलमार्गमा आउने जाने गरेको थियो।

तनावपूर्ण अवस्था भए पनि प्रहरीले गोली नचलाई भ्यानका चालकलाई पक्राउ गरी हिरासतमा लिएका छन्।

टोरन्टोका मेयरले धैर्यता देखाउन मानिसहरूलाई अपिल गरेका छन्।

विश्वका ठूला अर्थतन्त्र भएका जी सेभेन आवद्ध देशका विदेशमन्त्रीहरूको बैठक चलिरहेको टोरन्टोको मूख्य क्षेत्र भन्दा १८ माइल टाढा यो घटना भएको हो।

हालसम्म उक्त बैठक र भ्यान चालकका गतिविधिबीच केही सम्बन्ध रहे नरहेको पुष्टि भएको छैन।

विश्वका अन्य भागमा इस्लामिक स्टेट समूहले यस्तै प्रकृतिका हमला गराउने गरेका छन्। तर पछिल्लो घटनाको उद्देश्य अझै स्पष्ट छैन।

Post Comment