अफगानिस्तानमा बम विस्फोट,३ पत्रकारसहित २३ को मृत्यु

अफगानिस्तानमा बम विस्फोट,३ पत्रकारसहित २३ को मृत्यु
अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या २३ पुगेको छ ।

मध्य काबुलको सो जिल्लामा भएको आत्मघाती बम हमलामा परी अरु २७ जना नराम्ररी घाइते भएका बताइएको छ ।

सो विस्फोटमा आत्मघाती पनि दुई जना मारिएका छन् । उनीहरूको पहिचान खुलेको छैन । सोमबार बिहान दुई जना आत्मघातीले उक्त विस्फोट गराएको बताइएको छ ।

मारिनेमा तीन जना पत्रकार पनि परेका बताइएको छ । ती तीन जना पत्रकारमध्ये एकजना फोटो पत्रकार रहेको अफगानिस्तानको पत्रकार वकालत समूहले जनाएको छ ।

उक्त आक्रमण कसका लागि लक्षित थियो भन्ने बारेमा केही खुलेको छैन । तर पनि उक्त आक्रमणस्थल अफगानिस्तानको अर्धसैन्य बलको नजिक रहेकोले सोही कार्यालयलाई लक्षित गरिएको अनुमान प्रहरीको छ ।

सो क्षेत्र वरपर अरु पनि केही सरकारी कार्यालयहरू रहेका छन् । ती कार्यालहरूलाई पनि लक्षित गरिएको अनुमान गरिएको छ ।

आत्मघाती हमलाको कसैले जिम्मेवारी लिएको छैन । त्यसैगरी सो हमलामा परी मारिने पत्रकारको पनि पहिचान खुलेको छैन ।

प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीकाअनुसार अर्धसैन्य बलको नजिकै सो कार्यालय रहेकोले उनीहरूले उक्त कार्यालयमा रहेका अधिकारीलाई लक्षित गरेका थिए ।

तर मारिनेमा के कति जना सर्वसाधारण र उक्त बलका सदस्य कति परे भन्ने बारेमा भने केही जानकारी गराइएको छैन ।

Post Comment