भारतमा सत्तारुढ भारतीय जनता पार्टीलाई आगामी वर्ष हुने लोकसभा निर्वाचनमा पराजित गर्न क्रिश्चियन समुदायले विशेष भूमिका निर्वाह गर्ने संकेत देखिएको भन्दै सो पार्टीका नेताहरुले प्रतिक्रिया दिन थालेका छन् ।
खासगरी रोमन क्याथोलिक धर्मगुरु अनिल कुटोले पादरीहरुलाई लेखेको एउटा पत्रपछि भारतीय जनता पार्टीका नेताहरुले प्रतिक्रिया दिन थालेका हुन् । उनीहरुले क्रिश्चियन धर्मगुरुको त्यस्तो पत्रप्रति आपत्ति जनाएका छन् । धर्मका आडमा गरिएको राजनीतिक वक्तव्यवाजी आपत्तिजनक रहेको भारतीय जनता पार्टीका दिल्ली प्रवक्ता प्रवीण शंकर कपुरले बताए ।
धर्मगुरु कुटोले केही दिनअघि पादरीहरुलाई पत्र लेख्दै भारतमा हाल भइरहेको अशान्तिलाई ध्यानमा राख्दै आगामी वर्ष हुन गइरहेको लोकसभा निर्वाचनबाट देशमा नयाँ सरकार बन्ने उल्लेख गरेका छन् । उनले क्रिश्चियन समुदायलाई अगामी वर्ष हुने निर्वाचनका लागि प्रार्थना गर्न र हरेक शुक्रबार उपवास बस्न पनि अपील गरेका छन् ।
अर्को वर्ष हुने लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीका तर्फबाट नरेन्द्र मोदी नै दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने तयारीमा छन् ।
उनले पत्रमा भारतीय जनता पार्टीको नाम लिएका छैनन् । तर देशमा अहिले अशान्तिको माहोल रहेको भन्दै नयाँ निर्वाचनपछि मुलुकमा यस्तो वातावरण नबनोस् भन्ने उद्देश्यका साथ प्रार्थना गर्न र उपवास बस्न निर्देश गरेको बताइन्छ ।
भारतीय जनता पार्टी हिन्दूवादी दल मानिन्छ । ‘गोरक्षा’ का नाममा भारतका विभिन्न सहरमा भारतीय जनता पार्टी तथा हिन्दुवादी संगठनका कार्यकर्ताले कयौंलाई कुटपिट गर्ने गरेको र कयौंको मृत्यु समेत भएको समाचार प्रकाशमा आइरहँदा क्रिश्चियन धर्म गुरुको यस्तो पत्रले भारतीय जनता पार्टी सशंकित हुनु स्वाभाविक पनि हो ।
भारतीय जनता पार्टीका दिल्ली प्रवक्ता कपुरले भने, ‘सबैको साथ सबैको विकास भन्ने सरकारको मूलमन्त्र हो, यदि क्रिश्चियन धर्मगुरुलाई आफ्नो पदको थोरै पनि मर्यादाको हेक्का छ भने उनले यस्तो पत्र तुरुन्त फिर्ता लिनुपर्छ ।’ (