रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ बिहीबार उत्तर कोरिया पुगेका छन् ।
उनले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्ने जनाइएको छ । यी दुई देशले यस वर्ष कूटनीतिक समबन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाइरहेका छन् ।
रुसी विदेशमन्त्रालयद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा विदेशमन्त्री लाभरोभले उत्तर कोरियाको आणविक कार्यक्रम र अन्य द्विपक्षीय हितका विषयमा छलफल गर्ने जनाइएको छ ।
विज्ञप्तिमा विदेशमन्त्री लाभरोभले आफ्ना उत्तर कोरियाली समकक्षी रि योङ हिसँग द्विपक्षीय वार्ता गर्ने उल्लेख छ ।
भेटका क्रममा उत्तर कोरियाले हालैका दिनमा लिएको आणविक अस्त्र उत्पादन नीति, गत हप्तामात्र उत्तर कोरियाले भत्काएको आणविक परीक्षणस्थलका विषयमा पनि वार्ता हुने बताइएको छ ।
अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला रुसी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमणलाई निकै अर्थपूर्ण रुपमा लिइएको विश्लेषकहरुको भनाई छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा शिखर वार्ता हुने भएको छ ।