रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ ।
रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुन लागेको सम्झौता अवरुद्ध गरी क्षेत्रीय स्थायित्वका लागि सहयोग गर्न भनेको एक गोप्य सूचनालाई उद्धृत गर्दै उक्त दैनिकले आफ्नो शुक्रबारको अङ्कमा लेखेको छ ।
यस समाचार रिपोर्टप्रति फ्रान्सको राष्ट्रपतिको कार्यालयका साथै विदेश मन्त्रालयबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।
खाडी क्षेत्रका शक्तिराष्ट्रहरू बहराइन, संयुक्त अरब इमिरेट्सलगायतको सहयोगमा साउदी अरबले अतिवादी इस्लामिक समूहहरू तथा इरानसँग निकट भएको आरोपमा कतारसँगको सम्बन्धलाई गत वर्षको जुनदेखि विच्छेद गरेको घोषणा गरेको छ । इरानलाई रियादको क्षेत्रीय प्रतिस्पर्धीका रूपमा हेरिने गर्छ ।
आफूमाथि लागेको आरोपको कतारले खण्डन गर्दै केही खाडीमुलुकले लगाएको आर्थिक नाकावन्दी अन्यायपूर्ण भएको बताउदै आएको छ ।
खाडी मुलुकहरूले एक्लाइरहेका वेला कतारले रूस लगायतका नयाँ सहयोगीहरूको खोजी गरेको छ ।