फोएगो ल्याटिन अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्येको एक हो।
सन् १९७४ मा ठूलो विस्फोट हुँदा नजिककै कृषिजन्य क्षेत्रमा क्षति पुगेको थियो। तर त्यति बेला कोही हताहत भएको विवरण भने आएन।
यसपटकको विस्फोट भने ग्वाटेमालामा एक शताब्दीयताकै सबैभन्दा भीषण हो। यसबाट कम्तीमा २५ जनाको ज्यान गएको छ।
राजधानी ग्वाटेमाला सिटीबाट झन्डै ४० किलोमिटर दक्षिण-पश्चिममा रहेको स्थानमा आइतवार फोएगो ज्वालामुखीबाट चट्टान, ग्यास तथा खरानीको मुस्लो निस्किएको थियो।
तीव्र गतिमा लाभा गाउँहरूतर्फ बगेको थियो र धेरै मानिसहरूको आफ्नै घरभित्रै ज्यान गएको थियो।
सयौँ अन्य घाइते भएका छन् र कैयौँ मानिसहरू हराइरहेका छन्।
देशको मुख्य विमानस्थल पनि बन्द गरिएको छ।
यसै वर्षको फ्रेबुअरीमा भएको अर्को ज्वालामुखी विस्फोटमा १.७ किलोमिटर माथिसम्म खरानीको मुस्लो उडेको थियो।
आइतवारको विस्फोट अझ ठूलो स्तरमा भएको हो। खरानीको मुस्लो ६ किलोमिटरभन्दा पनि माथिसम्म उडेको थियो।
पाएरोक्लास्टिक भनिने रातो अनि तातो चट्टान र ग्यासको मिश्रण पहाडी भेग हुँदै तल बगेको थियो र गाउँहरू त्यसको चपेटामा परेका थिए।
सुस्त गतिमा बग्ने लाभाभन्दा पाएरोक्लास्टिकको बग्ने प्रकृति फरक हुन्छ किनकि यो निकै तीव्र वेगमा बग्दछ र सुस्त गतिमा बग्ने लाभाका क्रममा जस्तो मानिसहरू भाग्न सक्दैनन्।