किन पुगे किम जोङ अचानक चीन ?

किन पुगे किम जोङ अचानक चीन ?
अन्तर्राष्ट्रिय समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ताको एक हप्तापछि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन मंगलबार बेइजिङ पुगेका छन् ।
सन् २०१८ को जनवरी यता यो उनको तेस्रो चीन भ्रमण हो । बेइजिङमा रहँदा किमले चिनियाँ राष्ट्रपति सी जिङफिङसँग भेटवार्ता गर्नेछन् ।

चीन उत्तर कोरियाको एक मात्र व्यापारिक साझेदार हो । उत्तर कोरियामा शासन सम्हालेपछि ६ वर्षसम्म मुलुक बाहिर कदम नराखेका किमले तीन महिनामा तेस्रो पटक चीनको भ्रमण गर्न लागेका हुन् ।

चीनले ट्रम्प र किमबीच भएको भेटघाटको स्वागत गरेको थियो । भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ताको बारेमा छलफल हुने बताइएको छ ।

सिन्ह्वाका अनुसार उनी दुई दिन त्यहाँ बस्ने बताइएको छ । यसअघि किम फर्केपछि मात्र उनीबारे समाचार प्रकाशित गर्ने चीनले यस पटक भने उनी आउनासाथ समाचार प्रकाशन गरेको हो । उनी बुधबार प्योङयाङ फर्किने कार्यक्रम रहेको छ ।

बेइजिङमा हुने भेटवार्ताका क्रममा आफूमाथि लगाइएको नाकाबन्दीको विषयमा किमले छलफल गर्नेछन् । त्यस्तै उनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि निःशस्त्रीकरणको विषयमा गरेको प्रतिबद्धता कार्यान्वयनको विषयमा छलफल गर्ने बताइएको छ ।

प्योङयाङको आर्थिक साझेदार बेइजिङले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी हटाउने प्रतिबद्धता जनाएको छ ।

यसैबीच अमेरिका र दक्षिण कोरियाले पछिल्लो विकसित घटनाक्रमसँगै आफ्नो संयुक्त सैन्य अभ्यासलाई स्थगित समेत गरेका बीबीसीले जनाएको छ ।

भ्रमणको बारेमा चिनियाँ सञ्चार माध्यमले अगाडि नै जानकारी गराए पनि एजेण्डाको विषयमा भने खुलाएका छैनन् । उनी उत्तर कोरियाको सरकारी स्वामित्व रहेको एयर कोरियाकाे विशेष विमानबाट बेइजिङमा यात्रा गरिरहेको बताइएको छ ।

उनी गत मार्चमा कोरियाली सर्वोच्च नेताको रूपमा पहिलोपटक विदेशी भूमिमा पाइला टेकेका थिए । उनलाई बेइजिङले विशेष अतिथिको रूपमा स्वागत गरेको थियो। त्यस्तै मे मा उनी दोस्रो पटक चीन भ्रमण गरे । उनलाई डालियनमा सीले स्वागत गरेका थिए ।

Post Comment