जिम्बाब्वेमा राजनीतिक र्‍यालीमा विस्फोट

जिम्बाब्वेमा राजनीतिक र्‍यालीमा विस्फोट
अन्तर्राष्ट्रिय समाचार

जिम्बाब्वेका राष्ट्रपति एमरशन मनाङगाग्वा बुल्वेओ शहरमा भएको एउटा बम हमलामा जोगिएका छन्।

ह्वाइट सिटी रंगशालामा भएको र्‍यालीमा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेर स्टेजबाट मनाङगाग्वा निस्कँदै गर्दा उक्त विस्फोट भएको भिडिओ सामाग्रीहरू सार्वजनिक भएका छन्।

जिम्बाब्वेका सञ्चारमाध्यमहरूले उक्त हमलामा त्यहाँका वरिष्ठ अधिकारीहरू भने घाइते भएको जनाएका छन्।

 

मनाङगाग्वा गत नोभेम्बरमा पूर्व राष्ट्रपति रोबर्ट मुगाबेलाई हटाएर सत्तामा आएका थिए।

आउँदो ३० जुलाईमा देशव्यापी हुन लागेको चुनावको अगाडि बुल्वेओमा भएको चुनावी अभियानमा उनी सहभागी भएका थिए।

उनका प्रवक्ताले एउटा विज्ञप्ति जारी गर्दै विगत पाँच वर्षमा राष्ट्रपतिको ज्यान लिने प्रयासहरू पटकपटक भएको बताएका छन्।

जिम्बाब्वेको हेराल्ड पत्रिकाले बम विस्फोटमा उपराष्ट्रपति केम्बो मोहदीको खुट्टामा चोट लागेको बताएका छन् तर त्यसको पुष्टि भएको छैन।

उच्च अधिकारीहरू र उनीहरूका अंगरक्षक पनि उक्त विस्फोटमा घाइते भएको बताइएको छ।

Post Comment