चीनमा एक चर्चित प्रजातन्त्रवादी अभियानकर्तालाई ‘राज्यविरुद्धको षड्यन्त्र’ गरेको अभियोगमा १३ वर्ष जेल सजाय सुनाइएको छ।
चौसट्ठी वर्षीय चिन योङ मिनले अहिलेसम्म २२ वर्ष जेल सजाय काटिसकेका छन्।
यसअघि एकजना मानव अधिकारवादी वकिलले चिन योङले ‘अदालतलाई सहयोग गर्न अस्वीकार गरेको’ र मुद्दाको सुनुवाइका क्रममा केही बोल्न नमानेको समाचार संस्था एएफपीलाई बताएका थिए।
चाइनिज ह्युमन राइट्स डिफेन्डर नामक संस्थामा अनुसन्धानकर्ताका रूपमा कार्यरत फ्रान्सिस इभले चिन योङलाई ‘एउटा प्रजातान्त्रिक चीनमा विश्वास राखेका कारण र मानव अधिकारको पक्षमा वकालत गरेकाले दोषी ठहर्याइएको’ बताइन्।
उनले थपिन्, “तीन वर्षसम्म अनुसन्धान गरे पनि अधिकारीहरूले उनीविरुद्ध प्रमाण जुटाउन सकेनन्।”