पछिल्लो समय आप्रवासीप्रति कडा नीति लिएको अस्ट्रेलियाले हरेक वर्ष आप्रवासीलाई प्रदान गर्दै आएको स्थायी अनुमतिको संख्या १० प्रतिशतभन्दा बढीले घटाएको छ ।
अस्ट्रेलियाले हरेक वर्ष निश्चित संख्यामा आप्रवासीलाई अस्ट्रेलिया प्रवेशको अनुमति दिने गरेको थियो । सरकारको पछिल्लो तथ्यांकअनुसार गतवर्षको तुलनामा यस वर्ष प्रवेश पाउने आप्रवासीको संख्या करिब २१ हजारले कम गरिएको छ ।
गतवर्ष करिब १ लाख ८४ हजारले आप्रवासीका रूपमा प्रवेशको अनुमति पाएकोमा यस वर्ष करिब १ लाख ६३ हजारले मात्र प्रवेशको अनुमति पाएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै स्किल माइग्रेसन कार्यक्रमअन्तर्गत प्रवेश पाउनेहरूको संख्या करिब १२ हजार बढीले कम गरिएको छ भने पारिवारिक शीर्षकअन्तर्गत आउनेहरूको संख्या करिब ९ हजारले कम भएको छ ।
अस्ट्रेलियाका अध्यागमन मन्त्री पिटर डट्टनले आप्रवासीको संख्या कम हुनुमा अध्यागमन विभागको चुस्त कार्य र आवेदकको झूटो आवेदनका कारण कम भएको बताएका छन् । उनले अस्ट्रेलियाले आफ्नो देशको भलाइका लागि अहिले ल्याउँदै गरेको आप्रवासीहरूको संख्या कम गर्नुपर्ने बताउँदै आएको छ ।
आप्रवासीको रूपमा प्रवेश पाएपछि सरकारद्वारा उपलब्ध सेवा लिने भन्दा पनि मिहिनेत गरेर सरकारलाई केही योगदान दिनेहरूको आवश्यकता रहेको बताइँदै आएको छ । अस्ट्रेलियामा आएको आप्रवासीहरूको संख्या एक दशककै कम भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
तथ्यांकअनुसार अस्ट्रेलियामा सबैभन्दा धेरै आप्रवासीको संख्या भारतबाट रहेको छ भने त्यसपछि चीन र बेलायतमा रहेको छ । अस्ट्रेलियाले त्यहाँ आवश्यक पर्ने विभिन्न ज्ञान, सीप र दक्षता भएका विदेशीहरूलाई उनीहरूको देशबाटै स्थायी बासिन्दाको रूपमा अस्ट्रेलिया भित्र्याउँदै आएको छ ।
अस्ट्रेलियामा आउने आप्रवासीको संख्या कम गर्नुपर्ने आवाज बढिरहेको सन्दर्भमा आप्रवासीको संख्या कम हुनुले अस्ट्रेलियामा रहेकाहरूले थप अवसरहरू पाउनेसमेत दाबी गर्दै आएका छन् ।