इरानमा ६.० म्याग्निच्यूडको शक्तिशाली भूकम्प

इरानमा ६.० म्याग्निच्यूडको शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय समाचार

 इरान र इराकको सीमा नजिक ६.० म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण दुई जनाको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन्।

कर्मान्शाह विश्वविद्यालय शिक्षण अस्पतालको आपतकालीन विभागका प्रमुख साइब शारिदारीले दुई जनाको मृत्यु भएको र २४१ जना घाइते भएको जानकारी दिएका हुन्। घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

अमेरिकी भूगर्भीय विभागका अनुसार भूकम्पको केन्द्र इरानको कर्मान्शाह प्रान्तको जभानरुड सहरबाट २६ किलोमिटर पश्चिततर्फ रहेको थियो। भूकम्प पश्चात २१ वटा परकम्प महसुस गरिएको जनाइएको छ।

भूकम्पबाट प्रभावित गाउँका पूर्वाधारमा व्यापक क्षति पुगेकाले खानेपानीको गम्भीर समस्या देखिएको  तर खाद्यान्न र टेन्टहरु भने वितरण गर्नुपर्ने अवस्था नरहेको रेड क्रिसेन्टका प्रान्तीय प्रमुख मोहम्मद रेजा अमिरियानले बताएका छन्।

गत वर्ष नोभेम्बरमा यही क्षेत्रमा ७.३ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्पमा परेर कर्मान्शाह प्रान्तमा मात्र ६२० जनाको मृत्यु भएको थियो। रासस/एएफपी

Post Comment