भारतको यो गाउं जहां चीनले अन्नपानी भर्छ

भारतको यो गाउं जहां चीनले अन्नपानी भर्छ
अन्तर्राष्ट्रिय समाचार

भारत र चीनबीच दोक्लम तनाव कम भएपनि चीनसम्बन्धी एउटा कुराले भारतको टेन्सन बढाउने लक्षण देखिएको छ ।

एक रिपोर्टअनुसार, भारतको उत्तराखण्डमा तिब्बत सीमासँग जोडिएका ६वटा भारतीय गाउँका मानिस चीनको रासन, तेल, तरकारी र नून खाइरहेका छन् ।

यी वस्तुहरू चीनबाट नेपालको टिंकर हुँदै भारत पुगिरहेका छन् । नजंगभन्दा अगाडिको बाटो बन्द भएकाले सीमाक्षेत्रका यी गाउँमा भारतबाट जरूरी सामान पुगिरहेका छैनन् । त्यसैले गर्दा त्यहाँका गाउँलेहरू नेपाल आएर आफ्नो जरूरी सामान ल्याइरहेका छन् ।

गर्ब्याङ, गुन्जी, नपल्चु, नाभि, रोंककोङ, कुटी जस्ता गाउँ तिब्बतसँग जोडिएका छन् । ती गाउँमा ४०० जति परिवार बस्छन् । कैलाश मानसरोवर यात्रा मार्गका यी गाउँमा धारचूलाबाट खानेकुराको आपूर्ति हुन्छ । धारचुलाबाट १००
किलोमिटर टाढा रहेका गाउँमा घोडा र खच्चरबाट माल पु–याइन्छ ।

अहिले त्यहाँ निर्माणाधीन सडकका लागि पहाड कटान गरिएका छन् । धारचुलाबाट ५६ किलोमिटर पर गर्बाधारभन्दा अगाडि ब्लास्टिङ चलेकाले पहाडबाट पत्थर खस्ने सम्भावना छ । घोडा र खच्चर त्यो बाटोबाट जान नसकेका कारण खाना पु–याउन गाह्रो भएको छ ।

त्यसैले त्यहाँका गाउँलेहरू सीतापुलबाट नेपालको टिंकर पुगेर त्यहाँबाट चीनको सामान ल्याइरहेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीयलाई आत्मनिर्भर बनाउने र चीनभन्दा पनि अघि बढ्ने कुरा गरिरहेको सन्दर्भमा यो यथार्थ बिझाउने खालको छ । त्यहाँका गाउँलेहरू नेपाल आएर सामान किन्नुपरेकोमा असन्तुष्ट छन् ।

उनीहरू भन्छन्, ‘सरकारले हामीलाई पर्याप्त खाद्यवस्तु उपलब्ध गराओस् अनि नेपालप्रतिको निर्भरता अन्त्य हुनेछ ।’

चीनको मुद्रा युआनलाई स्थानीय भाषामा स्युगर भनिन्छ । भारतीय गाउँलेहरू ११ भारु पर्ने स्युगर तिरेर सामान किनिरहेका छन् ।

Post Comment