पाकिस्तानको सर्वोच्च अदालतले भारतका सबै टेलिभिजन च्यानलहरूमाथि पुनः प्रतिबन्ध लगाएको छ।
एउटा तल्लो अदालतको आदेशलाई उल्टाउँदै सर्वोच्चले फेरि प्रतिबन्ध लगाउन आदेश दिएको हो।
प्रधानन्यायाधीश साकिब निसारले पाकिस्तान भएर बग्ने नदीहरूमा भारतले बाँध बनाउन लागेको भन्दै उसका टेलिभिजन च्यानलहरूमाथिको प्रतिबन्ध मुनासिब भएको बताए।
भारतले ती बाँधहरूलाई एउटा अस्त्रको रूपमा प्रयोग गरिरहेको पाकिस्तानको आरोप छ। भारतले चाहिँ त्यो अस्वीकार गर्दै आएको छ।
भारतीय टेलिभिजन च्यानल र चलचित्रहरू पाकिस्तानमा पनि लोकप्रिय छन्, तर दुई देशबीचको तनावका बेला पाकिस्तानले तिनीहरूमाथि प्रतिबन्ध लगाउने गरेको छ।
लहोर उच्च अदालतको आदेश उल्टाएका प्रधानन्यायाधीश निसारलाई उद्धृत गर्दै भनिएको छ, “भारतले पाकिस्तान भएर बग्ने पानीको मात्रालाई सङ्कुचित गरिरहेको छ। हामीले उनीहरूका च्यानल किन बन्द नगर्ने?”
पाकिस्तानको ८० प्रतिशतभन्दा बढी सिचाइँ सिन्धु र त्यसका सहायक नदीको पानीमा निर्भर गर्दछ।