अमेरिकालगायत २० देशले समर्थन गरेका भेनेजुएलाका विपक्षी नेता गोइदमाथि कारवाही

अमेरिकालगायत २० देशले समर्थन गरेका भेनेजुएलाका विपक्षी नेता गोइदमाथि कारवाही
अन्तर्राष्ट्रिय समाचार

भेनेजुएलाका महाधिवक्ताले शीर्ष अदालतसँग विपक्षी नेता खुआन गोइदोमाथि देश छाड्न प्रतिबन्ध र उनको बैंकको खाता फ्रिज गरिदिन अपिल गरेका छन् ।

मंगलबार भेनेजुएलाका अटोर्नी जनरल तारेक विलियम सआमले सर्वोच्च अदालतबाट ऐतिहासिक कदम उठाएर गोइदोलाई देश छोड्न प्रतिबन्ध लगाइनुपर्ने र उनको सम्पत्ति फ्रिज गरिदिनुपर्ने माग राखे ।

अमेरिकाले आफ्ना देशका बैंकमा भएका भेनेजुएलाको खाताको नियन्त्रण गोइदोलाई दिएको बताएको केही दिनपछि भेनेजुएलाले यो कदम उठाएको हो ।

मादुरोप्रति झुकाव देखाइरहेको सर्वोच्च अदालतले महाधिवक्ताको मागको सम्बोधन गर्दै आदेश जारी गर्नसक्ने अनुमान गरिएको छ ।

अमेरिकी बैंकमा भएका खाताको नियन्त्रण खुआन गोइदोलाई सुम्पिनुअघि अमेरिकाले भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीभीएसमाथि प्रतिबन्ध लगाउँदै शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण स्विकार गर्न भनेका थियो ।

यो पूरा विवादमा भेनेजुएलाको सेना मादुरोलाई समर्थन गरिरहेको छ ।

गोइदोले गत हप्ता आफूलाई अन्तरिक राष्ट्रपति घोषित गरेका थिए । तत्पश्चात् भेनेजुएलामा सत्ता संघर्ष निकै चुलिएको छ ।

अमेरिकासमेत लगभग २० देशले गोइदोलाई राष्ट्रपतिको रुपमा मान्यता दिएको छ जबकी राष्ट्रपति निकोलस मादुरोले रुस र चीनसमेत केही अन्य देशका समर्थन पाएका छन् ।

यसै महिना राष्ट्रपति मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएका थिए । तर विपक्षीले भोटमा धाँधलीको आरोप लगाउँदै चुनाव बहिष्कार गरेका थिए ।

त्यसपछि विपक्षी नेता खुआन गोइदोको अपिलपछि भेनेजुएलामा व्यापक विरोध सुरु भएको थियो ।

संयुक्त राष्ट्रका अनुसार २१ जनवरीदेखि अहिलेसम्म कम्तीमा ४० को मृत्यु भइसकेको छ भने सयौं पक्राउ परेका छन् ।

Post Comment