भारतका सामाजिक अभियन्ता अन्ना हजारे फेरि अनशन बस्ने भएका छन् । उनी बुधबार स्थानीय समयानुसार बिहान १० बजे महाराष्ट्रको अहमद नगर जिल्लास्थित आफ्नै गाउँ रालेगण सिद्धिमा अनशन बस्ने भएका हुन् ।
नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारप्रति असन्तुष्टि जनाउँदै उनले लोकपाल विधेयक बनेको पाँच वर्षसम्म पनि त्यसलाई पूर्णता दिन बेवास्ता गरेकोमा कडा आलोचनासमेत गरे ।
मंगलबार उनले संचारकर्मीसामु भने, ‘मेरो यो अनशन कुनै व्यक्ति, पक्ष र पार्टीविरुद्ध होइन, समाज र देशको भलाइका लागि बारम्बार आन्दोलन गर्दै आएको छु, यो त्यसकै निरन्तरता हो ।’
सन् २०११/१२ मा अन्ना हजारेकै नेतृत्वमा दिल्लीको रामलीला मैदानमा तत्कालिन सरकारविरुद्ध विशाल आन्दोलन भएको थियो । त्यसबेला अन्ना अनशनमा थिए । त्यतिबेला उनको आन्दोलनमा सामेल कयौं अनुहार अहिले सत्तामा छन् । अन्ना हजारेको आन्दोलनलाई समर्थन गरेर उनकै अभियानमा लागेर ख्याती कमाएका अरविन्द केजरीवाल अहिले दिल्लीको मुख्यमन्त्री बनेका छन् । अर्की अभियन्ता किरण बेदी पुडुचेरीको राज्यपाल बनेकी छन् ।
आन्दोलनकै बलमा सन् २०१३ मा लोकपाल विधेयक पारित भएको थियो । तर अहिलेसम्म लोकपाल नियुक्त गरिएको छैन । लोकपाल चयनका लागि एउटा कमिटी गठन गर्नुबाहेक हालसम्म कुनै उपलब्धि हुन सकेको छैन । उक्त कमिटीको बैठकसमेत बस्न सकेको छैन ।
कांग्रेस नेतृत्वको सरकारले विधेयक पारित गराए पनि विधेयकलाई ठोस रुप दिने काम मोदी सरकारले गर्न नसकेको भन्दै अन्नाले फेरि अनशन बस्ने निधो गरेका हुन् ।
लोकपाल विधेयकका अनुसार लोकपालसँग पियनदेखि प्रधानमन्त्रीसम्म जोसूकैलाई भ्रष्टाचारको मामलामा उजुरी सुनुवाई गर्ने अधिकार हुन्छ ।