भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले विपक्षी नेता जुआन गाइदोसँग वार्ता गर्न तयार रहेको संकेत गरेका छन् । मादुरोले अन्तर्राष्ट्रिय मध्यस्तकर्ताको उपस्थितिमा गाइदोसँग वार्ता गर्न तयार रहेको हालै बताएका हुन् ।
यसअघि मादुरोले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संवाद गर्न खोज्दा प्रतिक्रिया नदिएको बताएका थिए । त्यसको भोलिपल्ट गाइदोसँग संवाद गर्न तयार रहेको बताएका हुन् ।
मादुरोले मेक्सिको, उरुग्वे, बोलिभिया, भ्याटिकन सिटी र रुस जस्ता देशले मध्यस्तता गरेको खण्डमा आफू गाइदोसँग वार्तामा बस्न तयार रहेको बताएका छन् ।
‘हत्या योजना बनाउँदै छन् ट्रम्प’
यससँगै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले आफूलाई हत्याको षड्यन्त्र गरिरहेको पनि आरोप लगाएका छन् । उनले हत्याको योजना बनाइरहेको भन्दै त्यसबारे आफू सचेत रहेको पनि बताए ।
‘यदी ममाथि केही भइहालेमा त्यसको जिम्मेवार डोनाल्ड ट्रम्प र कोलम्बियाका राष्ट्रपति इभान दुक्यु हुने छन्,’ उनले भनेका छन्, ‘तै पनि म सुरक्षित छु । हामीसँग रक्षाको राम्रो व्यवस्था छ । हामीसँग विशेष सुरक्षा नै छ, जुन दैवी शक्ति नै हो ।’