भारत ‘युद्धको उन्माद’बाट ग्रसित छ: इमरान खान

भारत ‘युद्धको उन्माद’बाट ग्रसित छ: इमरान खान
अन्तर्राष्ट्रिय समाचार

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत ‘युद्धको उन्माद’बाट ग्रसित भएको आरोप लगाएका छन्।

फाइन्यान्शल टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा खानले भारतमा निर्वाचन हुन लागेकाले उसले पुन: केही गर्न सक्ने आशङ्का व्यक्त गरेका छन्।

गत महिना भारत र पाकिस्तानबीच तनाव चुलिँदा शान्तिका लागि वार्ताको आह्वान गरेका खानले संसद्‌मा बोल्दै “भारतीय निर्वाचनलाई दृष्टिगत गरी केही न केही होला भन्ने डर आफूलाई लागेको” बताएका थिए।

फेब्रुअरी १४ मा भारत-प्रशासित कश्मीरको पुलवामामा भएको आत्मघाती विस्फोटनमा कम्तीमा ४० भारतीय सुरक्षाकर्मीको ज्यान गएपछि भारतले पाकिस्तानी भूमिमा हवाई आक्रमण गरेको थियो।पाकिस्तानले पनि आफू मौन नबस्ने भन्दै भारतीय कारबाहीको प्रतिकार गरेको थियो।

खानले भारतमा निर्वाचन सम्पन्न नहुन्जेल आफू चिन्तित रहने बताएका छन्।

भारतले गरेको हवाई आक्रमणलाई इङ्गित गर्दै उनले भने, ”मलाई फेरि केही हुन्छ कि जस्तो लागेको छ।”

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने।

तर परमाणुशक्ति भएका यी दुई छिमेकी देशहरूबीच राम्रो सम्बन्ध छैन।

उनीहरू दुवैले कश्मीर आफ्नो भएको दाबी गर्ने गरेका छन्। कश्मीरकै निहुँमा उनीहरूले युद्ध पनि गरेका छन्।

‘निर्वाचन जित्न’

फाइन्यान्शल टाइम्समा प्रकाशित अन्तर्वार्तामा खानले भने, “पुलवामामा आत्मघाती आक्रमण हुँदा मलाई मोदी सरकारले युद्धोन्मादलाई प्रोत्साहन गर्ला भन्ने लागेको थियो।”

“भारतीय नागरिकहरूले बुझ्नुपर्छ कि यो सबै निर्वाचन जित्नका लागि हो।”

आतङ्कवादी सङ्गठन जैश-ए-मोहम्मदसँग पाकिस्तानको कुनै सम्बन्ध नभएको भनाइ उनले दोहोर्‍याएका छन्।

गत वर्ष प्रधानमन्त्री बनेका खानले पाकिस्तानमा विभिन्न आतङ्ककारी सङ्गठनविरुद्ध कारबाही गर्न थालेका थिए। उनले नयाँ पाकिस्तानमा आतङ्कवादीहरूलाई कुनै स्थान नभएको बताए।

पाकिस्तानको अर्थव्यवस्थालाई फेरि सही बाटोमा ल्याउने र आफ्नो देशलाई चीनको ‘ग्राहक’ हुन नदिने पनि उनले बताएका छन्।

पाकिस्तानमा लुकेर सञ्चालित भएको मानिने लडाकु समूह जैश-ए-मोहम्मदले पुलवामामा आफूले आक्रमण गराएको दाबी गरेको थियो।

भारतीय पक्षले पाकिस्तानी भूमिमा जैश-ए-मोहम्मदलाई लक्षित गरेर हवाई कारबाही गरेको र सो समूहको शिविर ध्वस्त पारिदिएको दाबी गर्ने गरेको छ।

हिले पहिले भारतले आफ्नो भूमिमा आक्रमण हुँदा त्यस्तो अर्को घटना हुन नदिने खालको रणनीति मात्र अवलम्बन गर्ने गरेको थियो।

तर कश्मीरमा भएको आक्रमणपछि उसले सीमापारि धावा बोलेर रणनीति फेरिएको सन्देश दिन खोजेको छ।

भारतले हवाई आक्रमण गरेको २४ घण्टाभित्र पाकिस्तानले पनि प्रत्युत्तर दियो।

यसै क्रममा पाकिस्तानी भूमिमा भारतीय वायुसेनाको एउटा लडाकु विमान खसालियो र पाकिस्तानले त्यसका चालकलाई आफ्नो नियन्त्रणमा लियो।

Post Comment