सुडान सैन्य कू : कर्फ्यूको अवज्ञा गर्दै हजारौँ प्रदर्शनकारी सडकमा

सुडान सैन्य कू : कर्फ्यूको अवज्ञा गर्दै हजारौँ प्रदर्शनकारी सडकमा
अन्तर्राष्ट्रिय समाचार

सुडानमा नयाँ सैन्य परिषद्ले लगाएको कर्फ्यूको अवज्ञा गर्दै हजारौँ प्रदर्शनकारी राजधानी खार्तुमको सडकमा बसिरहेका छन्।

लामो समय सत्तामा रहेका राष्ट्रपति ओमार अल-बशीरलाई महिनौँदेखिको सडक प्रदर्शनपछि पदच्युत गरी बिहीवार पक्राउ गरिएको थियो।

तर प्रदर्शनकारीहरूले सैन्य परिषद् उक्त सत्ताको हिस्सा रहेको बताएका छन्।

Sudanese soldiers stand guard on armored vehicles as demonstrators protest against President Omar al-Bashir’s regime near the army headquarters in the Sudanese capital Khartoum .

पछिल्लो उल्लङ्घनले प्रदर्शनकारी र सेनाबीच हिंसात्मक मुठभेड हुनसक्ने आशङ्काहरू जन्माएको छ।

संयुक्त राष्ट्रसङ्घ र अफ्रिकी सङ्घ दुवैले संयमित हुन आह्वान गरेका छन्।

७५ वर्षीया बशीर पक्राउ परेको समाचारको खुसियाली धेरै बेर टिक्न सकेन जब प्रदर्शनका आयोजकले सैन्य मुख्यालयबाहिरको धर्ना जारी राख्न आह्वान गरे।

“यो त्यही शासनको निरन्तरता हो,” सुडानिज प्रोफेसनलस् एशोसियशनका सारा अब्देल जलिलले भने।

“त्यसैले अब हामीले के गर्नुपर्छ भने शान्तिपूर्ण प्रतिरोध र लडाइँलाई जारी राख्नुपर्छ।”

सरकारी सञ्चारमाध्यमले देखाएको एउटा आधिकारिक विज्ञप्तिमा कर्फ्यू स्थानीय समय अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म लागु हुनेछ।

“आफ्नो सुरक्षाका लागि त्यसैअनुसार कदम चाल्न नागरिकहरूलाई सुझाइएको छ,”

विज्ञप्तिमा थप भनिएको छ: “सशस्त्र फौज र सुरक्षा परिषद्ले शान्ति र सुरक्षा कायम गर्न र नागरिकको रोजीरोटीको संरक्षणको ख्याल गर्न आफ्नो कर्तव्य निर्वाह गर्नेछ।”

खार्तुमका सडकमा मानिसहरूको भीडले झण्डा फहराउँदै फेरि सत्ता छाड्न ठूलो ठूलो स्वरमा नारा लगाइरहेका छन्।

यसअघि पनि उनीहरूले अल-बशीर विरोधी नारा लगाउँदै “सत्ता छोड!” भन्ने नारा लगाएका थिए।

बशीरलाई सुडानको पश्चिमी डार्फर क्षेत्रमा मानवता विरुद्धको अपराध र युद्ध अपराध गराएको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीले अन्तर्राष्ट्रिय पक्राउपूर्जी जारी गरेको थियो।

उनी हिरासतमा रहेकाले अब उनीमाथि के हुन्छ भन्ने स्पष्ट छैन।

Post Comment