भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट लगायत आठ देशको सहभागिता रहने भएको छ । मे ३० मा प्रधानमन्त्री मोदीले भारतीय प्रधानमन्त्रीको रुपमा दोश्रो कार्यकालका लागि सपथ लिँदैछन् । बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राष्टहरु सहभागी रहेका छन् । यस संगठनमा ७ देशको प्रतिनिधित्व रहेको छ । जसमा भारतका अलवा नेपाल,बंगलादेश, म्यानमार,श्रीलंका, थाइल्यान्ड, भुटान रहेका छन् ।
यी सबै देशबाट सपथ समारोहमा प्रतिनिधित्व हुने जनाइएको छ । त्यसबाहेक किर्गिस्तान र मौरेससबाट समेत प्रतिनिधित्व हुने जनाइएको छ । यसअघि सन् २०१४ मा भएको सपथ समारोहमा सार्क मुलुकका राष्ट प्रमुखहरुलाई निमन्त्रणा गरिएको थियो । त्यसबेला पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ पनि सपथ समारोहमा सहभागी भएका थिए । तर यो पटक भने भारतले पाकिस्तानलाई निमन्त्रणा दिएको छैन् । पाकिस्तान सार्क सदस्य राष्ट भएपनि बिमस्टेकमा भने उसको प्रतिनिधित्व छैन ।
यसअघि साकै मुलुकका प्रमुखहरुलाई निमन्त्रणा दिने परम्परालाई भारतले यसपटक तोडेको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण १८ औं शिखर सम्मेलन सम्पन्न भएयता सार्क शिखर सम्मेलन हुन सकेको छैन । यसअघि १९ औं शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा गर्ने तयारी गरिए पनि भारतले अस्वीकार गरेपछि स्थगित भएको थियो ।
पाकिस्तानलाई किन सम्झिएन भारतले ?
लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले भारी मतले जित हासिल गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिएका थिए । प्रधानमन्त्री खानले वधाई दिएपछि २ देशबीचको सम्बन्धमा थप सुधारका संकेत देखिएको थियो । तर भारतले बिमस्टेक सदस्य राष्टहरुलाई निम्ता दिने नाममा सार्क संगठनको अस्तित्वलाई नै ओझेलमा पार्ने किसिमले तयारी गरेपछि यो पटकको सपथ समारोहमा पाकिस्तान छुटेको छ ।
पछिल्ला वर्ष दुई देशबीच देखिएको तनावका कारण भारतले पाकिस्तानलाई महत्व नदिएको विश्लेषण गर्ने गरिएता पनि दक्षिण एसियामा सार्क संगठन र यसको महत्वलाई फिक्का बनाउने रणनीति लोकसभा निर्वाचनका क्रममा भारतीय जनता पार्टीले जारी गरेको घोषणापत्रमै देखिएको थियो । सो घोषणापत्रमा बिमस्टेकलाई बढी महत्व दिइएको छ भने सार्क संगठनको नामै लिइएको छैन ।
त्यसैले त्यसको असर प्रधानमन्त्रीको सपथ समारोहमा समेत देखिएको छ । भारतको यो कदमले पाकिस्तानी प्रधानमन्त्री खानले सुरुमै देखाएको कुटनीतिक मर्यादालाई समेत लत्याएको विश्लेषण गर्न थालिएको छ । लोकसभा निर्वाचनमा भाजपा नेतृत्वको एनडिए गठबन्धनले ३५२ सिट प्राप्त गरेको छ भने भाजपाले मात्र ३०३ सिट प्राप्त गरेको छ । विजयी भएलगत्तै शनिबार मोदी संसदीय दलको नेता चयन भएका थिए ।
यो पटक को-को सहभागी हुँदैनन् ?
यो पटकको सपथ समारोहमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना प्रधानमन्त्री मोदीको सपथ समारोहमा उपस्थित हुन नसक्ने भएकी छन् । उनी त्यही समयमा तीन देशको भ्रमणमा निस्किदैछिन् । उनी जापान, साउदी अरब र फिनल्यान्डको भ्रमणमा जाँदैछिन् । त्यस्तै बेला बेला तनाव देखिएपनि भारतसँग जोडिएको नजिकको छिमेकी पाकिस्तान पनि योपटकको सपथ समारोहमा सहभागी नहुने भएको छ । भारतले औपचारिक निमन्त्रणा नदिएपछि पाकिस्तान सहभागी नहुने भएको हो ।