८ वर्षे बालिकाको सामूहिक बलात्कारपछि हत्यामा ६ जना दोषी ठहर

८ वर्षे बालिकाको सामूहिक बलात्कारपछि हत्यामा ६ जना दोषी ठहर
अन्तर्राष्ट्रिय समाचार

भारतको जम्मु–कस्मिरमा डेढ वर्षअघि एक ८ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कारपछिको हत्याकान्डमा संलग्न ६ जनालाई अदालतले दोषी ठहर गरेको छ ।

पन्जाबको पठानकोट अदालतले सोमबार फैसला गर्दै ६ जनालाई दोषी ठहर गरेको हो ।

सन् २०१८ को जनवरी १० मा ८ वर्षीया बालिकालाई नियन्त्रणमा लिइ लागुऔषध सेवन गराइ सामूहिक बलात्कारपश्चात् हत्या गरेको अभियोगमा अदालतले फैसला सुनाएको हो ।

अभियुक्तहरुले बालिकाको सामूहिक बलात्कार गरी हत्या गरेको स्वीकारेपछि दोषी ठहर गरिएको हो ।

घटनाका ‘मास्टरमाइन्ड’ पूर्वसरकारी अधिकारी साँझी राम, प्रहरी अधिकृत दीपक खजुरिया र प्रवेश कुमार गरी तीनजनालाई आजीवन कैद सजाय सुनाइएको छ । उनीहरुलाई एक/एक लाख भारु जरिवाना पनि गरिएको छ ।

अरु तीन अभियुक्तलाई पाँच/पाँच वर्षको जेल सजाय सुनाइएको छ । प्रमाणको अभावमा मास्टरमाइन्ड रामका छोरा विशाललाई भने अदालतले सफाइ दिएको छ ।

दुई विशेष प्रहरी अधिकारी दीपक खजुरिया र सुरेन्द्र वर्मा, प्रमुख कन्स्टेबल तीलक राज र सबइन्स्पेक्टर आनन्द दत्तालाई प्रमाण नस्ट गरेको भन्दै अदालतले दोषी ठहर गरेको हो ।

आजीवन कारावासको सजाय सुनाइएका प्रवेश कुमार भने साँझी रामका साथी हुन् ।

गत वर्षको अप्रिलमा प्रहरीले मुद्दा चलाएका ८ जनामध्ये एक नाबालकको भने जम्मु–कस्मिरस्थित उच्च अदालतमा मुद्दा चलिरहेको छ ।

अल्पसंख्यक बकरवाल समुदायकी ती ८ वर्षीया बालिकालाई अपहरणपछि अपराधीहरुले गाउँको एक मन्दिरमा बन्धक बनाएर राखी कयौं दिनसम्म बलात्कार गरी टाउको कुल्चेर मारेका थिए । उनको शव जनवरी १७ मा क्षतविक्षत अवस्थामा जंगलमा भेटिएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले सो हत्याकान्डलाई दर्दनाक घटना भन्दै उचित छानबिनको माग गरेका थिए ।

Post Comment