हङकङमा प्रदर्शनकारीमाथि रबरको गोली प्रहार

हङकङमा प्रदर्शनकारीमाथि रबरको गोली प्रहार
अन्तर्राष्ट्रिय समाचार

हङकङमा प्रस्तावित नयाँ सुपुर्दगी कानुनविरुद्धको प्रदर्शन हिंसात्मक बनेको छ ।

प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली र अश्रुग्यास प्रहार गरेको छ ।

हङकङमा दशकौंयता पहिलोपटक प्रदर्शनकारीमाथि रबरको गोली प्रहार भएको हो ।

प्रस्तावित विधेयकमाथि छलफल हुनुअघिको प्रदर्शन हिंसात्मक बनेको हो ।

हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको विधेयकको विरोधमा हजारौं मानिस सडकका उत्रिएका हुन् ।

उनीहरुले हङकङका मुख्य सडकहरु बन्द गरेका छन् भने सरकारी भवन घेरा हालेका छन् । प्रदर्शनकारीहरुले प्रहरीमाथिसमेत प्रहार गरेका छन् ।

प्रहरी कमिस्नर स्टेफन लो वाई चाङले प्रहरीसँगको झडपलाई दंगा भन्दै यो दन्डनीय हुने बताएका छन् ।

विधेयकले हङकङका नागरिकलाई मुद्दाको पुर्पक्षका लागि चिनियाँ मुख्य भूभागमा पठाउन सकिने व्यवस्था गरेकोमा हङकङका व्यवसायीहरूले पनि विरोध गरेका छन् ।

विरोध हुँदाहुँदै पनि बेइजिङनिकट विधायन परिषद्ले पारित गर्ने अपेक्षा गरिएको छ ।

सुपुर्दगी विधेयकलाई लिएर सन् १९९७ मा बेलायतले हङकङ चीनलाई फिर्ता दिएपछिकै सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको छ ।

Post Comment