हङकङको संसदमा छिरेर तोडफोड गर्ने प्रदर्शनकारीमाथि अश्रुग्यास प्रयोग गरेका प्रहरीले उनीहरूलाई त्यहाँबाट बाहिर निकालेका छन्।
ब्रिटेनबाट हङकङको सार्वभौमिकता चीनलाई सुम्पिएको वर्षगाँठको कार्यक्रमका बेला प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले विधायक परिषद्को भवनमा घण्टौँसम्म कब्जा जमाएका थिए।
प्रदर्शनकारीलाई भवन खाली गर्न चेतावनी दिएका सयौँ सङ्ख्याका प्रहरीले मध्येरात पछि उक्त भवनलाई आफ्नो नियन्त्रणमा लिएका थिए।
सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा हङकङमा थुप्रै हप्तादेखि तनाव जारी छ।
आलोचक चिन्तित
लाखौँ मानिसहरूले यसअघिको शान्तिपूर्ण प्रदर्शनमा भाग लिएका थिए।
सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकविरुद्धको र्याली मूख्यभूमि चीनप्रति राजनीतिक असन्तुष्टि व्यक्त गर्नका लागि प्रयोग गर्न सकिने भन्दै आलोचकहरूको चिन्ता छ।
हङकङकी प्रमुख कार्यकारी क्यारी लामले स्थानीय समय अनुसार ४ बजे पत्रकार सम्मेलनमा हिंसात्मक रूपमा विधायक कार्यालय तोडफोड गरी प्रवेश गर्ने प्रदर्शनकारीको निन्दा गरिन्।
सार्वभौमसत्ता हस्तान्तरणको २२ औँ वर्षगाँठमा शान्तिपूर्ण प्रदर्शनको सोमवार योजना गरिएको थियो।
चेतावनी
एउटा ठूलो स्तरको र्यालीमा लाखौँ मानिसहरू सहरमा सहभागी थिए। र्याली शान्तिपूर्ण ढङ्गमा अघि बढिरहेको थियो।
तर दिउँसो खानाको समयमा दर्जनौँ प्रदर्शनकारीहरूले तोडफोड गरेर विधायक परिषद्को भवनमा प्रवेश गरे।
कयौँ सय मानिसहरूले टाढाबाट हेरिरहेका बेला उनीहरूले भवनलाई आफ्नो नियन्त्रणमा लिए।
प्रहरीले भने आफूले बल प्रयोग गर्ने र पक्राउ गर्ने भन्दै चेतावनी दिएको थियो।
पछि प्रहरी भित्र प्रवेश गरेपछि सयौँ मानिसहरू भागेका थिए।