ब्रिटेनमा शरण लिएकी दुबईका शासककी श्रीमतीलाई ‘ज्यानको खतरा’

ब्रिटेनमा शरण लिएकी दुबईका शासककी श्रीमतीलाई ‘ज्यानको खतरा’
अन्तर्राष्ट्रिय समाचार

दुबईका शासक शेख मोहम्मद अल मकतूमकी श्रीमती राजकुमारी हया बिन्त अल हुसैन यतिबेला लण्डनमा लुकेर बसिरहेकी छिन् । श्रीमानलाई छोडेर ब्रिटेनको शरणमा पुगेकी उनलाई आफ्नो ज्यानको डर भएको बताइएको छ ।

६९ वर्षीय शेख मोहम्मदले आफ्नो इन्स्टाग्राममा एउटा कविता पोष्ट गरेका छन् जसमा उनले ‘कुनै अज्ञात महिला’ माथि ‘धोका दिएको र विश्वासघात’ गरेको आरोप लगाएका छन् ।

अर्बपती शेख मोहम्मद ब्रिटेनमा एउटा घोडा दौड सर्किटका मालिक हुन् र उनलाई बेलायती महारानीसँग एस्कट (रेसकोर्ट) मा कुरा गरिरहेको देखिनु साधारण कुरा हो ।

जोर्डनमा जन्मिएकी र ब्रिटेनमा पढेकी ४५ वर्षीया हयाले सन् २००४ मा शेख मोहम्मदसँग विवाह गरेकी थिइन् । हया उनकी छैठौं श्रीमती थिइन् ।

रिपोर्टका अनुसार थुप्रै श्रीमतीबाट शेख मोहम्मदका २३ सन्तान छन् ।

किन भागिन् हया ?

राजकुमारी हया दुबईबाट भागेर जर्मनी पुगेकी थिइन् र त्यहाँ शरण मागेकी थिइन् । यतिबेला हया लण्डनको प्रमुख इलाका केनसिंगटन प्यालेस गार्डनमा लगभग १२ सय करोड रुपैयाँ मूल्य पर्ने आवसीय परिसरमा बसिरहेको र हाईकोर्टमा कानूनी लडाईंको तयारीमा जुटिरहेको बताइएको छ ।

प्रश्न यो उठ्छ कि दुबईमा आफ्नो शानदार र विलासी जीवन छोडेर उनी किन भागिन् र उनलाई को सँग र किन डर छ ?

राजकुमारी हयाको नजिकको स्रोत अनुसार यसैवर्ष रहस्यमयी तरिकाले दुबई फर्किएकी शेखकी छोरी शेखा लतिफाबारे विचलित गरिदिने तथ्य पत्ता लागेको छ ।

सुनको पिँजडाकी चरी : दुबईकी राजकुमारीको ‘आजादी’ को इच्छा
शेखा लतिफा एक फ्रान्सेली व्यक्तिको मद्दतले डुङ्गामार्फत् दुबईबाट फरार भएकी थिइन् तर उनलाई भारतको तट नजिकै हतियारधारी रक्षकले हिरासतमा लिएर दुबई फिर्ता पठाएका थिए ।

त्यतिबेला राजकुमारी हया र आयरल्याण्डका पूर्व राष्ट्रपति रोबिनसनले यो मामलामा दुबईको पक्ष लिएका थिए ।

दुबईको प्रशासनले घर छोडेर भागेकी शेख लतिफा ‘उत्पीडनको शिकार भएको हुनसक्ने’ र ‘अब दुबईमा असुरक्षित’ भएको बताएको थियो । तर मानवाधिकार कार्यकर्ताले उनलाई आफ्नो मर्जीबिना अपहरण गरिएको बताएको छ ।

यो घटनापछि राजकुमारी हयालाई यसबारे विभिन्न नयाँ कुरा थाहा भएको र उनका श्रीमानका परिवारले उनीमाथि अत्यधिक दबाब दिन थालेको बताइन्छ । स्थिती यहाँसम्म पुग्यो कि उनले आफूलाई दुबईमा असुरक्षित पाइन् ।

उनका एक नजिकको स्रोतका अनुसार राजकुमारी हयालाई पनि आफ्नो अपहरण हुने र जबरजस्ती दुबई लगिने डर छ ।

Post Comment