हङकङमा सरकारविरोधी प्रदर्शनकारीहरुले विमानस्थल कब्जा गरेपछि सोमबार सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरु रद्द गरिएको छ ।
विश्वकै व्यस्त विमानस्थल मानिने हङकङ विमानस्थलमा प्रदर्शनकारीले कब्जा गरेर अवरोध सिर्जना गरेपछि यात्रीहरुलाई विमानस्थल नजान सुचित गरिएको छ ।
विमानस्थल कार्यालयले एक विज्ञप्ति जारी गरी विमानस्थल सन्चालनमा गम्भीर अवरोध आएको जनाएको छ ।
१६० भन्दा बढी उडान रद्द भएपछि हजारौं यात्री अलपत्र परेका छन् ।
हङकङका लागि विभिन्न मुलुकबाट उडेका विमान अवतरणका लागि भने अनुमति दिइएको अधिकारीहरुले जनाएका छन् । तर, अरु निर्धारित् उडानहरु रद्द गरिएको छ ।
आइतबार प्रहरी कारबाहीकाक्रममा केही प्रदर्शनकारी गम्भीर घाइते भएपछि प्रदर्शनकारीहरु सोमबार थप आक्रोशित बनेका हुन् ।
भीड नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार गर्नुका साथै केहीबेर लाठीचार्जसमेत गरेको थियो । प्रतिकारमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।
साढे दुई महिनाअघि विवादस्पद सुपुर्दगी विधेयक खारेजीको माग गर्दै आन्दोलन सुरु भएको थियो ।
विधेयक फिर्ता भएपनि प्रदर्शनकारीहरुले यसको खारेजीको माग गरेका छन् । प्रहरी दमनको स्वतन्त्र छानबिन र पक्राउ परेका प्रदर्शनकारीलाई छाड्नुपर्ने उनीहरुको थप माग छ ।
सन् १९९७ मा बेलायतबाट चीनलाई हस्तान्तरण गरिएको हङकङ एक मुलुक दुई प्रणालीअन्तर्गत् सन्चालित छ ।