पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधवार पाकिस्तान अधीनस्थ कश्मीरको मुजफ्फराबाद पुगेर विधानसभामा सम्बोधन गरेका छन् ।
आज पाकिस्तानको स्वतन्त्रता दिवस हो र पाकिस्तान सरकारले कश्मीरीहरूसँग ऐक्यबद्धता जनाउने निर्णय लिएको छ । भारतले जम्मु–कश्मीरको विशेषाधिकार खोसेपछि कश्मीरीहरूसँग पाकिस्तानले ऐक्यबद्धता जनाएको हो ।
सम्बोधनका क्रममा उनले भने, ‘पाकिस्तानको स्वतन्त्रता दिवसको दिन म आफ्ना कश्मीरी दाजुभाइ दिदीबहिनीमाझ छु ।’
आफूले अनेकौं ट्वीट गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीको वास्तविक अनुहार संसारसमक्ष पेश गरेको खानले बताए ।
‘अहिले हामीसामु एक खतरनाक विचारधारा छ र त्यो हो हिन्दू राष्ट्रवादी राष्ट्यि स्वयंसेवक संघको विचारधारा । मोदी बाल्यकालदेखि उक्त संघका सदस्य हुन् । नाजीहरूको जस्तो यो विचारधारामा भारतबाट मुसलमान सफाया गर्ने कुरा पनि समावेश गरिएको थियो । विगत पाँच वर्षमा भारत अधीनस्थ कश्मीरमा यही विचारधारा अन्तर्गत क्रूरता देखाइएको छ । नरेन्द्र मोदीले धारा ३७० खारेज गरेर हिटलरको जस्तो फाइनल सोलुसन खोजेका हुन्,’ खानले भने ।
‘कश्मीरमा लगाइएको कर्फ्यु हटाइएमा के हुने हो भन्ने कुरामा हामीहरू सबैजना डराएका छौं । तिनीहरू के गर्न खोज्दैछन् ? नरेन्द्र मोदीले ठूलो रणनीतिक भूल गरेका छन् । उनले आफ्नो अन्तिम कार्ड खेलेका छन् । उनीहरूले कश्मीरलाई अन्तर्राष्ट्रियकरण गरेका छन् । पहिला कश्मीरको बारेमा बोल्न एकदम कठिन थियो । तर अहिले संसारको आँखा कश्मीर र पाकिस्तानमा छ । म कश्मीरको विषय उठाउने विश्वदूत बन्नेछु ।’
‘आरएसएसको विचारधाराले भारतको संविधानको अवमूल्यन गरेको छ । भाजपा सरकारले मिडियामा नियन्त्रण जमाएको छ । विपक्षी नेताहरू डराएका छन् । आरएसएसका गुण्डाहरू मानिसलाई सम्मेलनमा भाग लिन दिँदैनन् । यस्तो त नाजी जर्मनीमा हुन्थ्यो । बुद्धिजीवीहरू सरकारका बारेमा बोल्न डराउँछन् । भाजपावालाहरू भारतलाई विनाशतर्फ लग्दैछन् । भारतमा मानिसहरू डराई डराई बाँचिरहेका छन् ।’
फारूक अब्दुल्ला जस्ता कश्मीरी नेताहरू भारतपरस्त थिए तर उनीहरू पनि पाकिस्तानका काइदे आजम मोहम्मद अली जिन्नाको द्विराष्ट्रिय सिद्धान्तमा सहमत रहेको इमरान खानले बताए ।