साउदी अरबका युवराज मोहम्मद बिन सलमानले इरानलाई नियन्त्रणमा नराखिए तेलको मूल्य सोच्दै नसोचेको तहमा बढ्ने चेतावनी दिएका छन् ।
अमेरिकी टेलिभिजन सीबीएस न्यूजसँग कुरा गर्दै उनले इरान र साउदी अरबबीच युद्ध भए त्यसले विश्व अर्थतन्त्रलाई तहसनहस पार्ने सम्भावना व्यक्त गरे ।
दुई हप्ताअघि साउदी तेल खानी र प्रशोधन केन्द्रमा आक्रमणहरू भएका थिए । साउदी अरबले इरानलाई ती आक्रमणको दोष लगाउने गरेको छन् ।
इरानले आरोप अस्वीकार गरेको छ । इरानको समर्थनमा यमनमा सक्रिय हूथी विद्रोहीहरूले आफूले ती आक्रमण गरेको दाबी गरेका छन् । तर अमेरिका र साउदी अरबले इरानमाथि दोष लगाएका छन् ।
आक्रमणपछि साउदी अरबले उत्पादन कटौती गरेको छ । साउदी युवराजले साउदी सरकारको आलोचना गर्ने पत्रकार जमाल खशोग्जीको हत्याको उत्तरदायित्व आफूले लिने पनि बताए ।
तर व्यक्तिगत रूपमा खशोग्जीको हत्या गर्न आदेश नदिएको उनको दाबी छ ।
साउदी अरबमा सबैभन्दा शक्तिशाली व्यक्ति मानिने युवराज साउदी राजाका उत्तराधिकारी हुन । साउदी पत्रकार खशोग्जीमाथि युवराजकै आदेशमा कारबाही भएको शंका गरिन्छ ।