युएस नेपाल न्युज, काठमाण्डाै । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या साढे दुई करोड नाघेको छ।
विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ५१ लाख ६२ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण भएको छ भने तीमध्ये आठ लाख ४६ हजार छ सयभन्दा धेरैको ज्यान गैसकेको छ ।
एक करोड ७५ लाख पाँच सयभन्दा धेरै उपचारपछि निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै दुई लाख ५६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने पाँच हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ । विश्वमा कोरोना सङ्क्रमितमध्ये झण्डै ७० प्रतिशत निको भएका छन्।
कोरोना भाइरसको प्रभाव सबैभन्दा धेरै अमेरिकामा परेका छन् । अमेरिकामा अहिलेसम्म ६१ लाख ३९ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख ४६ हजार आठ सयभन्दा धेरैको ज्यान गइसकेको छ । ३४ लाख आठ हजारभन्दा धेरै निको भएका छन् ।
दोस्रोमा ब्राजिलमा सबैभन्दा धेरैमा सङ्क्रमण भएको छ । ब्राजिलमा ३८ लाख ४७ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख २० हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । ब्राजिलमा ३० लाख छ हजारभन्दा धेरै निको भएका छन् । तेश्रोमा भारत रहेको छ । भारतमा ३५ लाख ३९ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण भएकोमा ६३ हजार छ सय ५० भन्दा धेरैको ज्यान गएको छ । २७ लाख १२ हजार पाँच सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।
कोरोना भाइरस नियन्त्रणका लागि विश्वका धेरै देशले लकडाउन तथा निषेधाज्ञा लागू गरेका छन् । तर पछिल्लो समयमा कोरोना त्रास बढाएर लकडाउन गरिरहँदा मानिसमा अरु समस्या आएको भन्दै कोरोनालाई सामान्यीकरण गर्दै नियन्त्रण गर्न माग बढेको छ।
जर्मनीमा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै सरकारले लागू गरेको प्रतिबन्धका विरुद्ध प्रदर्शन नै भएको छ । बर्लिनमा भएको प्रदर्शनमा सहभागीमध्ये तीन सयभन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।
बर्लिनमा भएको अधिकांश रुपले शान्तिपूर्ण प्रदर्शनमा ३८ हजार मानिस सहभागी भएको खबरमा उल्लेख छ ।