१७ असोज, काठमाडौं ।सिन्डिकेट बलमा सडकमा मनपरी गरिरहेका व्यवसायीलाई चुनौती दिँदै सरकारले यातायात क्षेत्रमा उपस्थिति जनाउने भएको छ । यातायात क्षेत्रमा सरकारको उपस्थिति शून्य रहेको समयमा सडकमा एकाधिकार जमाएका व्यवसायीले दसैंको समयमा यात्रुलाई दुःख दिने नियतले टिकट बुकिङ बन्द गरेपछि सरकारले आफैँ सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको छ ।
उपत्यकाबाट बाहिरिने ८ लाख बढी यात्रुले टिकट काट्न बाँकी रहँदै व्यवसायीले टिकट बन्द गरेका थिए । व्यवसायीले ‘बार्गेनिङ’ गर्न नियमितबाहेक चाडबाडका समयमा सवारी नथप्ने र भएका सवारीलाई समेत ग्यारेजमा थन्क्याउने नियत राखेपछि सरकार आक्रामक भएको हो । दसैंमा घर जाने यात्रुलाई दुःख दिन व्यवसायीले यात्रु कोच्न र बढी भाडा लिन पाउनुपर्ने, सरकारले इन्धन उपलब्ध गराउनुपर्नेलगायत नाजायज माग तेर्स्याएका थिए ।
दुर्घटना न्यूनीकरणका लागि र यात्रुको सहजताका लागि सरकारले सिट क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाएको छ । दसैंको समयमा अतिरिक्त बस सञ्चालन नगर्दा सरकारलार्य यो व्यवस्था हटाउन दबाब पर्छ भन्दै व्यवसायीले अग्रिम टिकट बुकिङ खुले पनि नियमितबाहेक बस थपेका थिएनन् । तर, व्यवसायीको नियत बुझ्दै सरकारले दसैंलगायत पर्वका समयमा सरकारी कार्यालय, सेना, प्रहरी, सशस्त्र प्रहरी र विद्यालयका बस सञ्चालन गर्ने निर्णय गरेको छ ।