ललितपुर, १२ कात्तिक – नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको महाअभियोग प्रस्ताव पास गर्न एमालेबाहेक अरुले आँट नगरेको बताएका छन् ।
नेकपा (एमाले) ललितपुरले आज आयोजना गरेको कार्यक्रममा
बोल्दै उनले चाडपर्वका समयमा समेत महाअभियोगका विषयमा छलफल नचाहेर पनि गर्न परिरहेको बताए । उनले भने , “अस्ति नै राजीनामा दिइसकेको भए अहिलेसम्म यो विषयमा छलफल नै गर्नुपर्ने थिएन ।”
एमालेको बहुमत पार्टीका लागि नभएर देशका लागि आवश्यक भएको उनले बताए । स्थिरता र स्थायित्वका लागि एमालेको नेतृत्व आवश्यक भएको उनको भनाइ थियो ।
कार्यक्रममा पोलिटब्युरो सदस्य रघुजी पन्तले बाबुबाजेले एक पैसा समेत अरुसँग नलिइ निर्माण गरेको सम्पदा पुनःनिर्माणका लागि वैदेशिक सहयोग लिनुपरेको बताए । नेकपा(एमाले) केन्द्रीय सदस्य सुशीला नेपालले एमालेसँग मात्रै सही विचार र सिद्धान्त भएको दाबी गरे ।