चिनले दियो प्रचण्ड सरकारलाई झट्का ,सरकारलाई थाहै नदिई सेना संग यस्तो सहमति !

जनसरोकार

१६,पुस । परराष्ट्र मन्त्रालयले बुधबार (पुस १३) गते पत्रकार सम्मेलन गरी नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने कुरा ‘हल्ला’ मात्रै भएको बतायो । इतिहासमै पहिलोपटक सन् २०१७ को सुरुवातमा नेपाल र चीनबीच सैन्य अभ्यास हुने भन्ने खबरले भारतमा त खैलाबैला मच्चिसकेको थियो । र, त्यही बीचमा परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री प्रकाशशरण महतले सैन्य अभ्यासको कुरै नभएको दाबी गर्दै यो खबरलाई ‘हल्ला मात्रै’ भने ।

परराष्ट्रमन्त्री महतले नेपाल–चीनबीच संयुक्त सैन्य अभ्यास हुने भनी आएको खबरमा असन्तुष्टि समेत जनाए । सरकारबाटै सैन्य अभ्यास नहुने भन्ने आधिकारिक धारणा आएपछि सबैले ‘हल्ला’ नै ठाने । तर, त्यसको भोलिपल्ट बिहिबार चिनियाँ रक्षा मन्त्रालयले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई झट्का दिँदै नेपालसँग संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गर्यो । यो घोषणा नेपाली सेनासँगको परामर्शपछि भएको थियो । परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतलाई समेत जानकारी नदिइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्रीसँगको छलफलपछि यो सैन्य अभ्यासको स्वीकृति लिइएको थियो या सेनाको एकल निर्णय हो भन्ने अझै खुलेको छैन् ।

सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाका अनुसार नेपालले चीनलाई संयुक्त सैन्य अभ्यास गर्ने प्रस्तावमा हुन्छ भनिसकेको छ । ‘प्रतिकार’ नाम दिइएको यो संयुक्त सैन्य अभ्यास आगामी जनवरी वा फेब्रअरी महिनामा हुने चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले बताए ।

नेपालले हालसम्म भारत र अमेरिका र कोरिया लगायत देशसँग संयुक्त सैन्य अभ्यास गरिसकेको छ । तर, १९५५ मा दौत्य सम्बन्ध कायम भएयता चीनसँग पहिलो पटक अभ्यास हुन लागेको हो ।

नेपाल–चीनबीच सन् २०१७ को सुरुवातमा संयुक्त सैन्य अभ्यास हुन लागेको भनि भारतीय मिडियामा खैलाबैला मच्चिएको छ । भारतीय मिडिया ‘टाइम्स अफ इन्डिया’ले नेपाल र चीनले गर्न लागेको संयुक्त सैन्य अभ्यासले भारत चिन्तित बनेको बताएको छ ।

‘प्रधानमन्त्री पुष्पकमल दाहालले भारत र चीनबीच सन्तुलन कायम गर्न खोजिराख्दा काठमाडौँले बेइजिङ आगामी नयाँ वर्षको शुरुवातमा गर्न लागेको पहिलो संयुक्त सैन्य अभ्यासले नयाँ दिल्लीले असहज महसुस गरेको छ,’ समाचारमा उल्लेख छ ।

समाचारमा नेपालले गर्न लागेको चीनसँगको सैन्य अभ्यासले भारत र नेपालबीचको सम्बन्धलाई सुधार्न प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको प्रयासमा पनि ‘असर’ पुग्ने बताइएको छ ।

भारतले अनावश्यक चाँसो देखाउन थालेपछि चीनले पनि त्यसको जवाफ फर्काएको छ । टाइम्स अफ इन्डियामा समाचार प्रकाशित भएकै दिन चीन सरकारको मुखपत्र मानिएको ग्लोबल टाइम्सले चीनले भारतलाई नेपाल–चीन सम्बन्धको मामिलामा अलि खुला सोँच राख्न सुझाव दिएको छ ।

भारतीय मिडियाले यो विषयलाई अनावश्यक रुपमा उछाल्नुको पछाडिको कारण भनेको नेपाललाई दबाब दिनु नै रहेको चिनियाँ पत्रिकाको निष्कर्ष छ । ‘भारतले दक्षिण एसियाली राष्ट्रहरुलाई आफ्नो आँगन ठान्ने गरेको छ,’ समाचारमा भनिएको छ- ‘र, यी राष्ट्रहरुले अन्य देशहरुसँग सहकार्य गर्दा धेरै चाँसो दिने गरेको छ, विशेष गरेर सुरक्षाको मामिलामा । तर यो गलत हो ।’

Post Comment