ड्यालस (टेक्सस)– नेपालमा महाभुकम्प गएको झण्डै दुई वर्ष हुन लागिसकेको भएपनि भुकम्प पीडितको व्यथा सकिएको छैन। प्रवासमा रहेका नेपाली समुदायले भुकम्प पीडितको पीडामा मलहम लगाउने क्रममा यसै साता ड्यालसमा युवाहरुले विशेष कार्यक्रमको तयारी गरिरहेका छन्।
युवाहरुको नेतृत्वमा रहेको ‘ड्यालस एभरेष्ट लियो क्लब’ ले आउँदो आइतबार ‘वाक फर रिकभरी’ नाम दिएर कार्यक्रम गर्दैछ। ‘यो कार्यक्रमबाट संकलन भएको रकम हामी नेपालका भुकम्प पीडितहरुका लागि पठाउँदैछौै’ ड्यालस एभरेष्ट लियो क्लबका चार्टर्ड पे्रसिडेन्ड अर्पण काफ्लेले भने।
नेपाली, ईस्पानिस, अमेरिकन, पेरु, इथियोपियाबाट आएका युवाहरुको सकृयतामा यो संस्था स्थापना भएको हो। गत अगष्टमा स्थापना भएको यो संस्थाले आफ्नो पहिलो कार्यक्रमका रुपमा नेपालमा केही गर्ने अठोट लिएर वाक फर रिकभरी गर्दैछ।
अर्पण आफैँ पनि निकै सकृय युवा हुन्। भरखरै १७ वर्ष पुगेका उनी ड्यालसका नेपाली समुदायमा अतिनै मेहनती र मेधावी छात्र पनि हुन्। जसले एकै पटकमा संसारभरका विद्यार्थीहरुको रोजाई र सपना रहेको ‘एमआइटी माचाचुसेट’ र क्यालटेक क्यालिफोर्नियामा एकैपटक छात्रवृत्ति पाएका छन्।
‘हामी हाम्रो मातृभूमिका लागि केही गर्न चाहन्छौं, त्यही भएर पहिलो कार्यक्रमका रुपमा यो कार्यक्रम गर्ने तयारीमा छौ,’ उनले भने। आइतबार बिहान उनीसँग कुराकानीका लागि पुग्दा समेत उनी आफ्ना अभिभावकसँग तयारीका विषयमा छलफल गर्दैथिए।
युवाहरुले गर्न लागेको यो कार्यक्रमलाई हौसला बढाइदिन नेपालका लागि पूर्ब अमेरिकी राजदूत स्कट डेलिसी आउँदैछन्। डेलिसीले सोरवे फाउण्डेसन मार्फत नेपालमा पुरातात्विक महत्वका सम्पदाको जिर्णोद्धारमा काम गरिरहेका छन्।
टेक्ससको युलेसस्थित बियरग्रीक पार्कमा दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रममा मनोरञ्जन, खेलकुद समेत समावेश रहेका छन्। ३४ जना युवाहरु रहेको यो संस्थाले निरन्तर रुपमा सामाजीक कार्यहरु गर्दै जाने योजना बनाएको छ। यो संस्थामा १३ देखि १८ वर्ष उमेर समुहका युवाहरुमात्र छन्।
कार्यक्रमलाई सफल बनाइदिन नेपाली युवाहरुले टेक्ससस्थित नेपाली समुदायहरुसँग बिशेष अपिल गरेका छन्। कार्यक्रमलाई गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिका, ड्यालस एभरेस्ट लाईन्स क्लब, नेपाली समाज टेक्सस लगायतका संस्थाहरुले सहयोग गर्ने जनाएका छन्।
‘पछिल्लो समयमा नेपालमा जन्मेर यता अमेरिका आएका र यही जन्मेका युवाहरु असाध्यै मेहनती, मेधावीमात्र होइन, समाजलाई केही गर्नुपर्छ भन्ने भावना बोकेका छन्,’ एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेल भन्छन्–‘त्यही भएर हामीले यस्ता युवाहरुलाई सामाजीक कार्यमा प्रेरणा दिनुपर्छ भनेर सहयोग गरिराखेका छौँ।’