अमेरिकाकै महँगो घर विक्रीको सुचीमा – मूल्य २५ करोड डलर

जनसरोकार

अमेरिका (एजेन्सीहरु) अमेरिकामा अहिले सबैभन्दा महँगो घर लसएञ्जलस स्थित बेल एअर क्षेत्रमा विक्री सुचीमा राखिएको छ । लसएञ्जलस सहर र समुन्द्र समेत देखिने स्थानमा बनेको ३८००० वर्ग फिटमा फैलिएको उक्त घरको मूल्य २५ करोड अमेरिकी डलर करिब २७ अर्ब नेपाली रुपैयाँ राखिएको छ । यो नै अहिलेको अमेरिकाको बजारमा विक्रीको सुचीमा रहेको सबैभन्दा महँगो घर हो ।

उच्च गुणस्तरीय फर्निचर समेत रहेको यो घर सन् २०१५ मा अमेरिकामा बनेका घरको औषत क्षेत्रफल भन्दा १४ गुना ठुलो छ । यसलाई बनाउन ४ वर्षसम्म लगातार २ सय ५० जना कामदार प्रयोग भएको थियो । उक्त घरमा दुई वटा मास्टर स्विट बेड रुम सहित १० भीआईपी सुत्ने कोठा गरी १२ कोठा र २१ बाथरुम छन् । यसबाहेक  तीन भान्सा कोठा, पांचवटा बार छन् ।  घरको बाहिर टहल्न १७ हजार वर्ग फिटको खालि जमिन छ । अत्याधुनिक पौडी पोखरी, ४० सिटको सबै आधुनिक सुविधा सम्पन्न मल्टिप्लेक्स थियटर पनि उक्त घरका विशेषता छन् । थियटरमा  फोर के प्रोजेक्टर जडान गरिएको छ ।

विश्वका अरवपतिलाई यो घर किन्न आकर्षित गर्ने उद्देश्यले यति मात्र होइन स्पा, फिटनेस सेन्टर सहित १०० चित्रकलाले पनि घरलाई सजाईएको छ । वीएएम लक्जरी डेभलपमेण्ट समूहले तयार गरेको यो घरमा सजाइका चित्रकलाको मूल्यमात्र १० लाख डलर रहेको बताइएको छ । ग्यारेजमा विश्व प्रसिद्ध कार कम्पनीका एक दर्जन भिन्टेज कार समेत राखिएको छ । यी सङ्कलन गरिएका कारको मूल्य ३० लाख डलर उल्लेख गरिएको छ । वाइनको कलेक्सनपनि कम छैन । यो घरका विक्री एजेण्ट रायनी विलियमस् भन्छन् यो कुनै साधारण घर होइन खरिदकर्ताको सबै सुविधाको ख्याल गरी सजावट गरिएको छ ।

बीएएमका मालिक ब्रुस माकोस्कीले केही अरबपतिको इच्छा अनुसार हुन गरी चार वर्ष लगाएर यो घर तयार पारिएको बताए ।  यदि यो कर २५ करोड डलरमा विक्री भयो भने चीनको सिजुमा विक्री भएको ३२ कोठाको विलासी घरभन्दा १० करोड डलर महँगो हुने छ । यस अघि अमेरिकामा सबैभन्दा महँगो घर लसएञ्जल्सको बेवरीहिल्समा १९ करोड ५० लाख डलरमा विक्री भएको थियो ।

Post Comment