हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने षडयन्त्र गरिएको छ :- एमाले अध्यक्ष ओली

हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने षडयन्त्र गरिएको छ :- एमाले अध्यक्ष ओली
जनसरोकार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको मौका पारेर पहाड र तराई छुट्याउने प्रयास भैरहेको बताएका छन् ।

 

राष्ट्रिय प्रचार भेलाको बिहीबार काठमाण्डुमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेविना संविधानलाई सर्वस्वीकार्य बनाउन भनेर सरकार लागिपरेको आरोप लगाए ।

‘चुनाव हुन नदिने षडयन्त्रमा एमाले लाग्यो भनेर प्रचार गरिँदैछ,’ ओलीले भने, ‘संविधानलाई सर्वस्वीकार्य बनाउन यो प्रस्ताव भन्नुहुन्छ तर एमालेसँग छलफल पनि हुँदैन । एमाले बाहेक संविधान सर्वस्वीकार्य हुन्छ ? यो चुनाव नगराउने षडयन्त्र हो । यस्ता थुप्रै विषय छन् । हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने अर्को षडयन्त्र गरिएको छ । चुनावको मौका पारेर पहाड र तराई छुट्याउने र अनुसुची नै फेर्ने काम भएको छ । राष्ट्रलाई विखण्डनतिर लैजाने प्रयास सरकारले नै गरेको छ ।’

उनले यो सरकार नै धाँधलीवाज सरकार भएको बताए । ‘हामी चुनावको दौरानमा छौं । चुनाव १, २, ३ कति चरणमा गर्ने भनेर हामीले सरकारसँग छलफल गर्दैनौं । यो सरकारलाई चुनाव नगरी सुखै छैन । हामी जसरी पनि चुनाव गराउँछौं । सरकार बल मिच्याँइ गरेर आउन खोजेको छ । सरकार बढी अहमका साथ नजाओस् यो पनि हामी भन्न चाहन्छौं ।’

उनले आफूलाई केही सञ्चारमाध्यमले मैमत्त नेता भनेर छापेको पनि उल्लेख गरे ।

‘यो सरकारले प्रहरीमा पनि आतंक मच्चाएको छ । डीआईजीलाई गिरफ्तार गरेर चियापानी पनि नदिई थुनियो,’ उनले भने,’सरकार पनि चुनाव भाँड्न लागिपरेको छ । कांग्रेस सभापति पनि चुनाव भाँड्न लागिपरेका छन् ।

उनले जेठ १५ मा पपुलिष्ट बजेट ल्याएर कांग्रेसले त्यसैको आडमा चुनाव जित्ने प्रयास गरेको आरोप लगाए ।

Post Comment