युवा संघ नेपालले सरकार र मधेसी मोर्चाबीच भएको ९ बुँदे सहमतिलाई देश सिक्किमीकरण गर्ने षडयन्त्र भनेको छ ।
विहिबार संघका अध्यक्ष राजीव पहारीले एक विज्ञप्ति जारी गर्दै सहमति र सहकार्यका नाममा सरकारले मधेसकेन्द्रीत दलसँग गरेको सम्झौता देशको अहितमा रहेको र यसले स्थानीय तहको निर्वाचन विथोल्ने बताएका छन् ।
यो सम्झौतामा आपत्ति जनाउँदै युवा संघले विज्ञप्तिमार्फत भनेको छ– ‘नागरिकता, भाषा, सीमांकन सम्बन्धी दोस्रो संशोधन विधेयक जुन तरिकाबाट दर्ता गरिएको छ यसले हाम्रो राष्ट्रिय स्वाभिमान पूर्ण रुपले गिर्ने र नेपाल सिक्किमीकरण तथा फिजिकरणको दिशामा अगाडि बढ्ने चित्र स्पष्ट देखिन्छ ।’
स्थानीय तहको संख्या वृद्धि गर्ने र स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सम्झौताले सरकार र मधेसवादी दल संविधान कार्यान्वयन गर्न नचाँहिरहेको भन्दै संघले अगाडि भनेको छ– ‘यी र यस्ता खाले सहमति, सम्झौता र निर्णयले मुलुकलाई जटिल भुमरीमा पार्ने भएकाले संघ स्पष्टताका साथ दोस्रो संविधान संशोधन विधेयक फिर्ता गरी वैशाख ३१ मै स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न जोडदार माग गर्दछ ।’
संघले आफ्ना माग पूरा नभए चुप लागेर नबस्ने चेतावनी दिँदै विज्ञप्तिमार्फत भनेको छ– ‘यदि संघको मागलाई वेवास्ता गरी अगाडि बढेमा हामी जस्तोसुकै कदम चाल्न बाध्य हुनेछौ ।’