पछिल्लो राजनीतिक घटनाक्रमपछि नेपाली सेना एकाएक सक्रिय भएको छ ।
आइतबार अपराह्न प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता, गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा तथा तीन पूर्व आईजीपीलाई जेल सजायको निर्णयलगत्तै सैनिक हेडक्वार्टर जंगी अड्डाले देशभरका मातहत निकायलाई ‘हाई अलर्ट’मा बस्न सर्कुलर जारी गर्यो । त्यसलगत्तै राति नै प्रधानसेनापति राजेन्द्र क्षत्रीको अध्यक्षतामा वरिष्ठ सैनिक अधिकृतको उच्चस्तरीय बैठक बस्यो ।
बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकाल्यो । सैनिक मुख्यालय जंगी अड्डामा राति बसेको आकस्मिक बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको सामिक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गर्यो ।
बैठकमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । साथै प्रधानसेनापति क्षत्रीले सम्भावित सुरक्षा चुनौती सामनाका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका थिए ।
‘बैठकमा तराईका जिल्लाका साथै पहाडी र हिमाली भेगमा समेत राजनीतिक आवरणमा विध्वंशका गतिविधि हुन सक्ने विषयमा बैठकमा छलफल भएको छ,’ एक उच्च सैनिक अधिकृतले भने– ‘अवस्था देश र जनताको अहितमा रहे सामनाका लागि तयार रहन प्रधानसेनापतिले निर्देशन गर्नुभयो ।’
बैठकमा प्रधानसेनापति क्षत्रीसहित बलाधिकृत रथी र बलाध्यक्ष रथीसहित सबै महानिर्देशनालय प्रमुखहरु उपस्थित थिए ।