हतार र छापामार शैलीमा पुरानै हस्ताक्षरको प्रयोग गरेर प्रधानन्यायाधीश सुशील कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराइएपछि कांग्रेसभित्रै तीव्र असन्तुष्टि देखिन थालेको छ ।
पहिलो असन्तुष्टि स्वरुप गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएका छन् । दोस्रो असन्तुष्टिमा कांग्रेसका शीर्ष नेताले किन एक्कासी महाअभियोग ल्याइयो भन्दै कांग्रेस बैठकमा सभापतिलाई र्याख्र्याख्ती पारेका छन् भने तेस्रो असन्तुष्टिमा कोइराला खानदानका हस्ती एवं प्रष्ट वक्ता डा. शेखर कोइरालाले पनि असन्तुष्टि व्यक्त गरेका छन् ।
सोमबार बिहान सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै कोइरालाले भनेका छन्, ‘प्रधानन्यायाधीशका केही कमजोरी भए पनि हतारमा महाअभियोग ल्याउनु संसदीय अराजकता हो ।’
साथै, उनले महाअभियोग लाग्ने वित्तिकै निलम्बनमा पर्ने प्रावधान पनि हटाउनुपर्ने माग गरेका छन् । कांग्रेस केन्द्रीय समितिले न्यायपालिकाको सम्बन्धमा बोलेको विषय पनि गलत भएको उनको भनाई छ । कोइरालाले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि लगाइएको महाअभियोगलाई पनि गलत भनेका छन् ।