महाअभियोग प्रकरण र मधेसी दल सहभागी नहुने घोषणासँगै भएको राजनीतिक ध्रुवीकरणका बीच आज मंगलबार स्थानीय तह चुनावको लागि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।
निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरुलाई आज बिहान १० देखि ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने समय तोकेको छ ।
दुई चरणमा निर्वाचन गरिने भएको हुँदा आजको मनोनयन तीन प्रदेशका ३४ जिल्लाको लागि हुनेछ । तीनै प्रदेशका २ सय ८३ तहमा उम्मेदवारी दर्ता गर्न आयोगले आव्हान गरेको छ । उम्मेदवारको विरोधमा कुनै उजुरी भए बैशाख २० गते, बुधबारसम्म दिन सकिने छ । मनोनित उम्मेदवारले बैशाख २१ गते आफ्नो नाम फिर्ता लिन पाउने र त्यसको भोलिपल्ट बैशाख २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने आयोगको तयारी छ ।
उम्मेदवारहरुले २२ गते नै चुनाव चिन्ह पाउनेछन् । संसदभित्र रहेका २७ दलबाट उम्मेदवार भएकाहरूले आफ्नो दलगत चिह्न पाउने छन् । अन्य दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरूले आयोगले निर्धारण गरेको स्वतन्त्र चिह्नहरूको समूहबाट निर्वाचन चिह्न छान्ने छन ।
पहिलो चरणमा चुनाव हुने जिल्लाहरुः
प्रदेश नम्बर ३ः दोलखा, सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाण्डु, ललितपुर र भक्तपुर
प्रदेश नम्बर ४ः मनाङ, मुस्ताङ, गोरखा, लमजुङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीका केही क्षेत्र
प्रदेश नम्बर ६ः डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, दैलेख, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमका केही क्षेत्र
राजनीतिक दलका तर्फबाट उम्मेदवारी दिने व्यक्तिले आफ्नो मनोनयन पत्रसँगै सम्बन्धित दलले दिएको औपचारिक पत्रसमेत पेस गर्नुपर्ने हुन्छ । स्थानीय तह निर्वाचन ऐनले वडा सदस्यका लागि ५ सय, वडाअध्यक्षका लागि १ हजार, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि १ हजार ५ सय रुपैयाँ धरौटी तोकेको छ ।
सोमबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले महिला, दलित, अल्पसंख्यक तथा आर्थिक रुपले विपन्न उम्मेदवारलाई धरौटी रकममा ५० प्रतिशत छुट दिइने जानकारी गराएका थिए । ऐनले वार्षिक पारिवारिक आय ५० हजार रुपैयाँभन्दा कम भएकालाई आर्थिक रूपले विपन्न वर्ग मानेको छ । छूटका लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाले सिफारिस गरेको हुनुपर्छ ।
गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकामा प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष र प्रत्येक वडाबाट चार जना सदस्यका लागि चुनावी प्रतिस्पर्धा हुनेछ। एक जना मतदाताले ७ पदका लागि मत हाल्न पाउनेछन् । कुनै एक व्यक्तिले एकभन्दा बढी पदमा उम्मेदवारी दिन नपाउने व्यवस्था छ ।
मनोनयन पत्र दर्ता गर्ने दिनसम्म उम्मेदवार हुने व्यक्ति २१ वर्ष पूरा भएको र उम्मेदवार हुन चाहेको सम्बन्धित वडा, गाउँ वा नगरको मतदाता नामावलीमा नाम हुनुपर्छ ।