सत्तारुढ काँग्रेस र माओवादी केन्द्रका २४९ सांसदले संसद सचिवालयमा महाअभियोग दर्ता गराएसँगै निलम्बनमा परेकी प्रधानन्यायाधीश सुशीला कार्कीका श्रीमान एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीले पहिलोपटक उक्त प्रकरणबारे मुख खोलेका छन् । सुदेवीले महाअभियोग लागेर निलम्बनमा परेकी श्रीमती कार्कीप्रति आफूले गर्व गरेको बताए ।
महाअभियोग दर्ता भएको तीन दिनसम्म मौन बसेका सुदेवीले ‘राम्रो कामको पुरस्कार’ स्वरुप कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गरिएको टिप्पणी गरे । ‘न्यायालयमा उहाँले राम्रो काम गर्नुभएको थियो, कसैको डर र त्रासमा नपरी कानुन र संविधानका पक्षमा उभिनुभयो’, सुवेदीले भने, ‘मलाई दुःख छैन, गर्व लागेको छ ।’ सुवेदीले अकारण महाअभियोग प्रस्ताव दर्ता भएपछि समाजमा कार्कीको उचाई बढेको दाबी गरे ।
‘सामाजिक सञ्जाल (फेसबुक) र समाचारहरु, मानिसहरुको टिप्पणीहरु हेरिहेको छु’, उनले भने, ‘त्यसबाट समाजमा सम्माननीयको उचाई बढेको छ, केही नोक्सान भएको छैन ।’ सुदेवीले निलम्बित प्रधानन्यायाधीश कार्की पनि कुनै चिन्तामा नरहेको बताए । कार्कीले घरका काम, पूजापाठ र अध्ययनमा समय बिताउने गरेको उनले सुनाए ।
सुवेदीका अनुसार कार्कीले महाअभियोगको डटेर सामना गर्ने मनस्थिति बनाएकी छन् । ‘कुनै ‘स्टेस’ छैन, घरका दैनिक कामहरुमा व्यस्त हुनुहुन्छ, महाअभियोगको डटेर सामाना गर्छु भन्नुहुन्छ ।’