सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी तालमेलको सहमतिलाई लिएर चितवनमा कांग्रेस कार्यकर्ता आक्रोशित बनेका छन् ।
कांग्रेसको केन्द्रीय पार्टी कार्यालयबाट चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रलाई मेयर छाड्ने सहमति गरिएपछि चितवनमा कार्यकर्ता केन्द्रीय निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।
नाराबाजीसहित जिल्ला पार्टी कार्यालयमा भेला भएका उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध समेत नाराबाजी गरिरहेका छन् ।
चुनावी प्रचार प्रसारमा हिँडेका कार्यकर्ता समेत केन्द्रीय पार्टी कार्यालयले गलत निर्णय गरेको भन्दै सभापति देउवाविरुद्ध नाराबाजीमा उत्रिएका हुन् ।
भरतपुरमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाललाई जसरी पनि मेयर बनाउन माओवादी केन्द्रले काठमाडौं र पोखरा महानगर कांग्रेसलाई सुम्पेको छ । भने भरतपुरमा कांग्रेसबाट मेयर पद खासेको छ ।
मनोनयन दर्ता गरी चुनावी प्रचार प्रसारमै लागिसकेका बेला केन्द्रमा तालमेलको निर्णय भएपछि कांग्रेस कार्यकर्ता आक्रोशित भएका हुन् ।