आज मध्यरातपछि फेसबुक तथा ट्वीटर जस्ता ‘सोसियल मिडिया’ बाट चुनाव प्रचार–प्रसार गर्न पाइने छैन ।
निर्वाचन आयोगले जनाएअनुसार मतदानको ४८ घण्टाअघिदेखि शुरु हुने मौन अवधिको आचारसंहिता उम्मेदवार र राजनीतिक दललाई मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत लागु हुनेछ ।
निर्वाचन आयोगको आचारसंहितमा मौन अवधिमा एस.एम.एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रचार प्रसार गर्न नपाइने उल्लेख छ ।
सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न नहुने भएकाले मौन अवधिमा सामाजिक सञ्जाल प्रयोगकर्ता पनि मौन रहनुपर्नेछ ।
उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा आधारहीन सामग्री एस।एम।एस, फेसबुक, ट्वीटर, भाइवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमा प्रकाशन, प्रशारण वा सम्प्रेषण गर्न नपाइने निर्वाचन कानुनमा उल्लेख छ ।
यदि आचारसंहिता उल्लंघन गरेको सन्दर्भमा उजुरी परेमा त्यस्ता सामाजिक सञ्जाल प्रयोगकर्तामाथि निर्वाचन आयोगले कारवाही गर्नेछ ।
स्थानीय तहको निर्वाचनमा सामाजिक फेसबुक, ट्वीटर, यु ट्युवजस्ता सामाजिक सञ्जाललाई चुनाव प्रचारको मुख्य साधन बनाएका दल तथा उम्मेदवारहरुले पनि मौन अवधिमा यी माध्यम प्रयोग गर्दा सावधानी अपनाउनुपर्नेछ ।