नेपाली कांग्रेसले पहिलो चरणमा चुनाव हुने चार वटै महानगरसहित ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख रमेश लेखकले कांग्रेसको पक्षमा अभूतपूर्व माहोल बनेको दाबी गरे । पार्टी कार्यालय सानेपामा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेता लेखकले भने, ‘जहाँ-जहाँ तालमेल भएको छ र, जहाँ हामी एक्लै लड्दैछौं, हामी सबै महानगरमा निर्वाचन जित्दैछौं ।’
उपमहानगर, नगरपालिका र गाउँपालिकाहरुकामा पनि सुक्ष्म विश्लेषण गरेको भन्दै उनले भने, ‘अत्याधिक ठाउँमा कांग्रेस जित्दैछ । पहिलो चरणमा चुनाव हुने ६० देखि ६५ प्रतिशत स्थानीय तहमा हामी जित्दैछौं ।’
प्रचार विभाग प्रमुख लेखकले कांग्रेसको जितको आधार पनि प्रस्तुत गरे । कांग्रेस पहिलो पार्टी भएपछि मात्र संविधान बनेको, कांग्रेसकै पहलमा संविधान कार्यान्वयन अघि बढेको भन्दै उनले भने, ‘आम जनतामा कांग्रेसले हार्दा देशले हार्दो रहेछ, कांग्रेस जित्दा देश जित्दो रहेछ भन्ने परेको छ ।’
स्थानीय चुनावमा आफूहरुले पनि तालमेल गरेको तर, एमाले प्रतिगामी कित्तामा पुगेको आरोप उनले लगाए । ‘हामीले माओवादी केन्द्रसँग तालमेल गरेका छौं र यो संविधानको पक्षमा प्रगतितर्फ उन्मुख छ,’ लेखकले भने, ‘तर, एमालेको तालमेल संविधान विरोधी, मूल तत्वहरु नै नमान्ने दलहरुसँग छ ।’
उनले अघि भने, ‘स्थानीय तहको निर्वाचनमा एमाले प्रतिगामी कित्तामा पुगेको छ ।’