नेपाली कांग्रेसकी नेतृ मृदुला कोइरालाले कांग्रेस र माओवादी केन्द्रबीच भएको चुनावी तालमेलको कडा शब्दमा विरोध गरेकी छन् ।
कांग्रेसमा कोइराला परिवारकी चेली एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जनसम्पर्क सल्लाहकार समेत रहिसकेकी मृदुलाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस माओवादी गठबन्धनको विरोध गर्दै पार्टी नेतृत्वमाथि कडा प्रश्न तेस्र्याएकी छन् ।
उनले प्रश्न गरेकी छन्– ‘यो कस्तो गठबन्धन, कार्यकर्तालाई यो कत्रो धर्मसंकट ? मुक्तिनाथ अधिकारी लगायत कांग्रेस भएकै कारण मारिएका तमाम सहिदका परिवारलाई के जवाफ दिने होला ? के साच्चिकै नेपाली कांग्रेसको समाजवाद र आर्दश अब माओवादीको विचारधारतर्फ पिछलग्गु भएकै हो त ? यसबेला विपी, गणेशमान र किसुनजीहरु के सोचिरहेका होलान ?’
नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महिला आरक्षणतर्फ केन्द्रीय सदस्यमा लडेकी मृदुला झिनो मतले पराजित भएकी थिइन् । हाल उनी पार्टीमा त्यति सक्रिय छैनन् ।