सेनालाई मतदानस्थलमा अराजक गतिविधि गर्नेलाई तुरुन्त कारबाही गर्ने सुरक्षाकर्मीलाई अधिकार

सेनालाई मतदानस्थलमा अराजक गतिविधि गर्नेलाई तुरुन्त कारबाही गर्ने सुरक्षाकर्मीलाई अधिकार
जनसरोकार

गृह मन्त्रालयले ३४ जिल्लामा हुन गइरहेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा तोकिएको सबै मतदानस्थल र केन्द्र सुरक्षाकर्मीको निगरानीमा रहेको जनाएको छ । ३, ४ र ६ नम्बर प्रदेशका २८३ मतदानस्थलमा सुरक्षाकर्मी खटिसकेको र सुरक्षा व्यवस्था मजबुत पारिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । सुरक्षाकर्मीले मतदानस्थल र केन्द्रआसपासको बाटोसमेत आफ्नो घेराभित्र लिइसकेको उनको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ ।

निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गराउन मतदानस्थल, मतपेटिका र मतपत्र सबै सुरक्षाकर्मीको निगरानी र नियन्त्रणमा रहेको उनले बताए । मतदानस्थलमा तीनवटै सुरक्षा निकाय तथा म्यादी प्रहरी खटिएका छन् । उपत्यकाबाहिर केही जिल्लामा सुरक्षा चुनौती रहेकाले निगरानी गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको प्रवक्ता पन्थीले बताए । ‘मतदानस्थलमा अराजक गतिविधि गर्नेलाई तुरुन्त कारबाही गर्न सुरक्षाकर्मीलाई अधिकार दिइएको छ,’ उनले भने ।

मतदानस्थलमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटिने भएका छन् । सरकारले तोकेबमोजिमको दूरीमा नेपाली सेना र नेपाल प्रहरीका साथै म्यादी प्रहरीलाई सुरक्षा व्यवस्थाका लागि खटाइएको गृह मन्त्रालयले जनाएको छ । एउटा मतदानस्थलमा १५ देखि २० जनाको हाराहारीमा सुरक्षाकर्मी खटाइएको नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले बताए । तीनवटा प्रदेशका लागि करिब ८० हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Post Comment